झापा । इजरायलले गाजा युद्धविराम सम्झौतालाई मन्त्रिपरिषद्मा लगेर मतदानमार्फत अनुमोदन गर्नुपर्नेमा यसलाई आधिकारिक मान्यता दिन ढिलाइ गरिरहेको छ ।
हिजै मन्त्रिपरिषद्मा मतदान गराउनु पर्नेमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यसलाई आलटाल गरिरहेको बीबीसीले जनाएको छ ।
उनले हमासले अन्तिम समयमा कैदीबन्दी रिहाइको सम्बन्धमा सम्झौतामा हेरफेरको माग गरिरहेको भन्दै सम्झौतालाई अन्तिम रुप दिन अस्वीकार गरिरहेको खबरमा उल्लेख छ ।
प्रधानमन्त्री नेतन्याहुको कार्यालयले हमासले अन्तिम समयमा कैदी रिहाइको थप सुविधा खोजेको आरोप लगाउँदै जबसम्म हमास सम्झौताको सबै तत्वलाई स्वीकार गर्दैन, तबसम्म मन्त्रिपरिषद बैठक नबोलाउने अडान लिएको छ ।
हमासले भने बन्दी रिहाइ र युद्धविराम सम्झौतालाई मान्यता दिइसकेको जनाएको छ । हमासले सम्झौता अन्तर्गत प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गर्ने सूचीमा आफ्ना केही सदस्यहरूको नाम थप्ने प्रयास गरिरहेको प्रधानमन्त्री नेतन्याहुको आरोप छ ।
महिनौँदेखिको वार्ता तथा छलफलपछि इजरायली वार्ताकारहरु युद्धविरामको सम्झौतामा सहमत भएका हुन् । पर्सि आइतवारदेखि युद्धविराम पूर्णरुपमा लागू हुने बताइएको छ ।