काठमाडौं । आज देशभर माघेसङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् ।
उत्तरायण शुरू हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्छ । आज भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।
थारू समुदायले माघ १ गतेलाई माघी पर्व एवम् नयाँ वर्षको रुपमा मनाउँदै छन् । तराईवासीले नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । आज सरकारले सार्वजनिक विदा दिएको छ ।
आज बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिने धर्मशास्त्रविद् प्रा।डा।देवमणि भट्टराईले जानकारी दिए।
माघेसङ्क्रान्तिका दिन घिउ, चाँकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।
तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ ।
माघेसङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउँदैछ ।