२०८१ पौष २९, सोमवार , ०३:५८:३५ बजे

Sajhamanch
'

नर्वेमा गएको वर्ष ९० प्रतिशत विद्युतीय कार बिक्री, यो वर्ष पेट्रोलियम गाडीको बिक्री रोक्न सक्ने

सोमवार, पौष २९, २०८१

झापा । नर्वेमा गएको वर्ष बिक्री भएका नयाँ गाडीमध्ये ९० प्रतिशत विद्युतीय रहेका छन् । नर्वेजियन रोड फेडरेशन (ओएफभी) को तथ्यांकले गएको वर्ष बिक्री भएका ८८.९ प्रतिशत नयाँ कारहरू विद्युतीय रहेको जनाएको छ ।

त्यसअघि सन् २०२३ मा नर्वेमा कुल कार बिक्रीक्रिको ८२ प्रतिशत विद्युतीय थिए । नर्वेका धेरैजसो गाडी बिक्रेताले समेत अब पेट्रोलियम पदार्थबाट चल्ने गाडी बिक्री गर्न छाडेका छन् ।

ओस्लोको हाराल्ड ए मोलरले ७५ वर्षभन्दा लामो समयदेखि फक्सवागन कार आयात गर्दै आएकोमा अब बिदाइ गरेको जनाएको छ । अब यसको शोरूममा बिक्रीका लागि सबै गाडी विद्युतीय छन् ।

५५ लाख जनसंख्या भएको देश नर्वे पेट्रोलियम गाडी हटाएर पूर्ण विद्युतीय गाडी भएको विश्वको पहिलो देश बन्ने लक्ष्यमा रहेको छ ।

गएको वर्ष नर्वेको सडकमा विद्युतीय कारहरूको संख्या पहिलो पटक पेट्रोलबाट चल्ने कारहरूको संख्याभन्दा धेरै थियो । कुनै कुनै महिना नर्वेमा बिक्री हुने गाडीमध्ये ९८ प्रतिशसम्म विद्युतीय हुने गरेका छन् ।

नर्वेमा पेट्रोल पम्प विस्थापित भएर पम्पको ठाउँमा चार्जिङ स्टेशनहरू बनेका छन् । २७ हजार वटा सार्वजनिक चार्जिङ स्टेशन रहेका सरकारले जनाएको छ ।

नर्वेले सन् १९९० देखि नै विद्युतीय गाडीमा जोड दिँदै आएको छ । पेट्रोलियम कार र गाडीमा चर्को कर लाग्ने गरेको छ, विद्युतीय कारमा भने कर र पार्किङ शुल्क छुट छ भने बस गुड्ने लेनमा पनि विद्युतीय गाडी गुडाउन मिल्ने सुविधा छ । नर्वेले यसै अंग्रेजी वर्ष अर्थात् सन् २०२५ को जुनसुकै बेला गैरविद्युतीय कारको बिक्री रोक्न सक्ने बीबीसीको खबरमा उल्लेख छ ।

युरोपेली संघ र अमेरिकाले चिनियाँ विद्युतीय गाडीमा चर्को शुल्क लगाए पनि नर्वेले लगाएको छैन । युरोपेली संघले सन् २०३५ सम्ममा नयाँ जीवाश्म इन्धनको कार बिक्रीमा प्रतिबन्ध लगाउने योजना बनाएको छ । बेलायतमा गएको वर्ष २०२४ मा नयाँ कार दर्ताको २० प्रतिशत मात्र विद्युतीय कारहरू थिए ।

सम्बन्धित खबर