झापा । अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या २४ जना पुगेको छ ।
नेपाली समयअनुसार आज बिहानसम्ममा ज्यान गुमाउनेको सङ्ख्या २४ जना पुगेको लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
क्यालिफोर्नियाका मौसमविद्हरूले यो क्षेत्रमा थप तीव्र हावा चल्ने भएकाले आगलागी अझै फैलन सक्ने चेतावनी दिएका छन् । अझै धेरै ठाउँमा लागेको आगो नियन्त्रण हुन सकेको छैन । दमकल, हेलिकप्टरमार्फत आगो निभाउने प्रयास भइरहेको खबरमा उल्लेख छ ।
आगलागीका कारण इटन र पालिसेड्स क्षेत्र बढी प्रभावित भएका छन् । आगलागीका कारण सबैभन्दा बढी क्षति भएको पालिसेड्समा २३ हजार एकड जमिनभन्दा बढी क्षेत्र जलेको छ ।
अमेरिकको एक निजी मौसम अनुगमन कम्पनीले आगलागीबाट आर्थिक क्षतिको प्रारम्भिक अनुमान बढाएर २५० देखि २७० अर्ब अमेरिकी डलरसम्म पुर्याएको छ ।