२०८१ पौष २८, आइतवार , ०९:४३:२३ बजे

Sajhamanch
'

रवि लामिछाने आज फेरि काठमाडौं प्रहरीको हिरासतमा

आइतवार, पौष २८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएकोले उनी हिरासतमा पुगेका हुन् ।

प्रहरी स्रोतका अनुसार रविलाई आइतबार भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिनेछ । सोमबार पुनः अदालत पेस गर्नेगरी उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछाने विरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दाको बयानका लागि लामिछाने आज आइतबार आफैं अदालत हाजिर भएका थिए । लगत्तै न्यायाधीश अधिकारीको इजलासमा बयान भएको थियो ।

रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार आज थुनछेक बहस नभए पछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको हो ।

‘बयान सकिँदा आज १५÷२० मिनेटमात्रै समय बाँकी भयो,’ न्यौपानेले भने, ‘हामीले आजै थुनछेक बहसका लागि आग्रह गरेका थियौं । तर, श्रीमानले प्रहरीकै जिम्मा लगाउनु भयो ।’

उनका अनुसार, परिवार वा सरकारी वकिलको जिम्मामा रविलाई छाड्न न्यायाधीश अधिकारीसँग आग्रह गरिएको थियो । यद्यपि उनले उक्त प्रचलन नभएको भन्दै प्रहरीकै जिम्मा दिनुपर्ने बताएको न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार भोलि बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुनेछ ।

सम्बन्धित खबर