काठमाडौं । सरकारले आगामी माघ १ देखि वैदेशिक रोजगारीमा जाने कामदारलाई सम्बन्धित देशको भाषामा तालिम दिने भएको छ। वैदेशिक रोजगार विभागले देशगत रूपमा भाषागत अभिमुखिकरण तालिम सञ्चालन गर्न सम्बन्धित संस्थालाई निर्देशन गरेको हो।
विभागले फेसटाइम एटेन्डेन्स तथा आइरिस रिकग्निसन सिस्टम गत ३ पुसदेखि लागू गरेको थियो। माघ १ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारका हकमा भाषा र देशगत तालिम अनिवार्य गरिएको वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा देश र त्यसपछि भाषागत अभिमुखीकरण तालिम सञ्चालन हुन्छ।
वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रूपमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम कक्षामा उपस्थित हुनुपर्ने उनले बताए। ‘आइरिस सिस्टम लागू भएपछि देशगत क्लस्टर लागू गर्ने सम्बन्धमा दुईबुँदे निर्देशन जारी भइसकेको छ। देशगत क्लस्टर समूह, पूर्वाधार र प्रशिक्षकहरूको योग्यता खुलाए निवेदन दिएर छनोट भएपछि माघ १ गतेदेखि तालिम सञ्चालन हुन्छ’, उनले भने।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई देश र भाषागत तालिम सञ्चालन गर्दा रोजगारदाता देशमा समस्या नहुने उनको दाबी छ। खाडी देश, मलेसिया, जापान, दक्षिण कोरिया युरोप र अन्य गरी ६ वटा क्लस्टर तोकेको छ। देशगत क्लस्टर तोकिएपछि अभिमुखीकरण तालिमका लागि संस्था खोज्दै हिँड्नुपर्ने कामदारको बाध्यता अन्त्य हुने अभिमुखीकरण व्यवसायी महासंघले जनाएको छ।
सरकारले देशगत अभिमुखिकरण तालिम सञ्चालन गर्ने निर्णय राम्रो भएको अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतामले जनाएका छन्। यसका लागि अभिमुखिकरण तालिम प्रदायक संस्था तयार छन् कि छैन भनेर अध्ययन पनि आवश्यक रहेको उनले बताए। ‘सरकारले देशगत अभिमुखिकरण तालिम सञ्चालन गर्नु राम्रो पक्ष हो। तर यसका लागि लागत खर्च र अन्य सुविधामा पनि ध्यान दिनुपर्छ। यसका लागि सरकारले अध्ययन गर्नुपर्छ।’ उनले भने।
देशगत क्लस्टर सञ्चालन अनुमतिका लागि निवेदन नदिएका वा निवेदन दिए पनि छनोट नभएका संस्थाले २८ पुसभित्र आफूले सञ्चालनका लागि दाबी गर्ने पाउने विभागले जनाएको छ।
एकभन्दा बढी क्लस्टरमा तालिम सञ्चालन गर्न वा तोकिएको क्लस्टर परिवर्तन गर्न चाहेको अवस्थामा आफूले सञ्चालन गर्दै आएको पूर्वाधार र प्रशिक्षकको योग्यता निवेदना खुलाउनुपर्ने विभागले जनाएको छ। हाल दुईभन्दा बढी वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखिकरण तालिम दिने संस्था छन्। यी संस्थाले तालिम दिएवापत २ हजार ८०० कामदारसँग लागत खर्च दिने गरेका छन्।
हाल तालिम सञ्चालन गर्दै आएका संस्थाले दैनिक ३ हजार २०० भन्दा बढी वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखिकरण तालिम दिदै आएका छन्। सरकारले पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारका हकमा पनि अभिमुखिकरण तालिम अनिवार्य गर्न लागेको विभागले जनाएको छ।