झापा । भर्खरै सकिएको अङ्ग्रेजी वर्ष सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनेको छ । युरोपेली जलवायु एजेन्सी कोपरनिकसले सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनेको र पहिलो पटक विश्वव्यापी औसत तापक्रम पूर्व–औद्योगिक स्तरभन्दा एक दशमलव ५ डिग्री सेल्सियस बढी रहेको बताएको हो ।
कोपर्निकस एजेन्सीका अनुसार सन् २०२४ को जनवरीदेखि जुनसम्मको हरेक महिना अहिलेसम्मकै सबैभन्दा तातो महिना थियो । जुलाईदेखि डिसेम्बरसम्म अगस्टबाहेक बाँकी सबै महिना सन् २०२३ पछि दोस्रो सबैभन्दा तातो महिनाका रूपमा रेकर्ड गरिएको थियो ।
वैज्ञानिकहरूका अनुसार सन् २०२४ मा विश्वको औसत तापक्रम १५ दशमलव १ डिग्री सेल्सियस थियो । यो १९९१–२०२० को औसतभन्दा शून्य दशमलव ७२ डिग्री र २०२३ भन्दा शून्य दशमलव १२ डिग्रीले धेरै हो ।
सन् १८५० देखि विश्वको तापक्रमको रेकर्ड राख्न शुरू भएपछि २०२४ सबैभन्दा तातो वर्ष बनेको हो । यो वर्ष औसत तापक्रम १८५०–१९०० को आधार रेखाभन्दा १ दशमलव ६० डिग्री सेल्सियसले धेरै हो ।
सन् २०१६ मै पृथ्वीको तापमान वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य राखिएको थियो । तर हरित ग्यास उत्जर्सन, जीवाश्म इनधनको प्रयोग लगायतका मानवीय गतिविधिका कारण विश्व तापमानले सीमा पार गर्ने अवस्था आएको प्रतिवेदनमा उल्लेख छ ।
अक्सफोर्ड विश्वविद्यालयको भौतिकशास्त्र विभागका र संयुक्त राष्ट्र प्रतिवेदनका लेखक माइल्स एलेनले हामी विश्व तापमानको सीमा पार गर्नबाट निकै नजिक रहेको बताएका छन् ।