काठमाडौं । बेलायतको मौसम विभागले देशका धेरै स्थानमा थप हिमपात हुने चेतावनी जारी गरेको छ । हिमपातको मध्यम जोखिमको संकेत स्वरुप मौसम विभागले एलो अलर्ट जारी गरेको छ ।
विभागका अनुसार आयरल्याण्ड र वेल्सका केही स्थानका साथै उत्तरपश्चिमी र पूर्वी इङ्गल्याण्डका पूर्वी क्षेत्रमा हिमपात धेरै हुनेछ । यसअघि विभागले उत्तरी स्कटल्याण्डका केही क्षेत्रमा हिमपातको चेतावनी जारी गरेको थियो ।
बेलायतमा अत्यधिक चिसोसँगै धेरै स्थानमा भारी हिमपात भइसकेको छ । यसका साथै भारी वर्षा र हिमपात पग्लिने हुँदा बाढी आउनसक्ने चेतावनी पनि दिइएको छ ।
चेतावनी जारी गरिएका क्षेत्रमा यातायात सेवा प्रभावित हुने आशंका छ । त्यसैले उच्च सतर्कता अपनाउन भनिएको छ ।
हिमपातकै कारण विहीबार म्यानचेस्टर एयरपोर्ट केहीबेर बन्द गरिएको थियो । यद्यपि केही घण्टापछि रनवे खुला गरिएको थियो । हिमपातका कारण उडान अवतरण केहीबेर प्रभावित भएको थियो ।