झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समाजलाई परिवर्तन गर्न सक्ने आधार नै शिक्षा भएको बताएका छन् । परिवर्तनको आधार नै शिक्षा भएकाले सबैको प्राथमिकतामा शिक्षा हुनुपर्ने बताए ।
आज झापाको अर्जुनधारा–३ स्थित जनता माविको ६९औं वार्षिकोत्सवमा सम्बोधन गर्दै सभामुख घिमिरेले शिक्षा क्षेत्रका लागि पर्याप्त बजेटको व्यवस्था हुनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि घिमिरेले सबै तहको सरकारले शिक्षालाई प्राथमिकतामा राखेर बजेटको व्यवस्था गर्न आग्रह गरे । उनले राज्यले शिक्षामा पर्याप्त बजेटको व्यवस्था गरे मात्रै शिक्षामा अपेक्षाकृत उपलब्धी हासिल गर्न सकिने पनि बताए ।
सभामुख घिमिरेले २१औं शताब्दी सुहाउँदो शिक्षा ऐन बन्नुपर्नेमा जोड दिए । अब संसदको हिउँदे सत्रबाट शिक्षा ऐन पास गरेर शिक्षाका अप्ठ्याराहरुलाई समाधान गर्दे लैजानु पर्छ, सभामुख घिमिरेले भने– पुरानै शिक्षा ऐनबाट चलाउनु पर्दा कठिन भइरहेको छ ।
जनतामा माध्यमिक विद्यालय शिक्षक, विद्यार्थी, अभिभावक र शिक्षाप्रेमीहरुहको मेहनतबाट यहाँसम्म आएको सभामुख घिमिरेको धारणा थियो । उनले विद्यार्थीहरुलाई प्रभावशाली बनाउन सोही अनुसारको शैक्षिक वातावरण, प्रविधि र पूर्वाधारको जरुरी भएको बताएका छन् ।
सभामुख घिमिरे समक्ष विद्यालयको कम्पाउण्ड वाल, कक्षा कोठाहरुमा स्मार्ट बोर्ड, व्यवस्थित मैदान र वाटिका निर्माणका लागि माग पनि गरिएको छ ।