झापा । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो हलिवुड हिल्ससम्म पुगेको छ । जङ्गलमा लागेको आलो हलिवुड हिल्ससम्म पुगेपछि डल्बी थिएटर, हलिवुड बाउल आउटडोर एमफी थिएटर र हलिवुड वाक अफ फेमजस्ता प्रसिद्ध ठाउँहरू खाली गराउन थालिएको बीबीसीले जनाएको छ । डल्बी थिएटरमा एकेडेमी पुरस्कार समारोहको आयोजना हुने गरेको छ ।
आगलागीका कारण हलिवुड वरपरका सडक अस्तव्यस्त भएको छ । सास फेर्न सजिलो होस् भनेर मानिसहरूले आफ्नो अनुहार स्वेटशर्टले ढाकेका छन् । धेरै मानिसहरू झोला र सुटकेसहरू लिएर जाने ठाउँ खोजिरहेका छन् ।
आगो लागिरहेका ठाउँको नजिकका धेरै सडकमा चहलपहल बढेको छ । यी सडकहरूमा प्रतिष्ठित हलिउड बुलेभार्ड र हलिउड वाक अफ फेम पनि समावेश छ । कतिपयले भाग्नका लागि गलत साइड प्रयोग गरिरहेका छन् ।
अहिले लस एन्जलस र यसको छिमेकी भेन्चुरा काउन्टीमा कम्तीमा पाँच वटा जङ्गलमा आगो लागिरहेको छ । आगलागीका कारण २७ हजार एकड क्षेत्रफल ध्वस्त भएको छ । आगलागीबाट लस एन्जलस र वरपर फिल्स स्टारहरूका घर समेत एक हजार वटाभन्दा धेरै संरचना नष्ट भएका छन् ।
आगलागीमा परी अहिलेसम्म पाँच जनाको ज्यान गएको पुष्टि भएको र एक लाख ३७ हजार जनाभन्दा धेरै मानिसलाई स्थानान्तरण गरिएको बीबीसीको खबरमा उल्लेख छ । लस एन्जलसको इतिहासमा यो सबैभन्दा विनाशकारी जङ्गलको आगलागी भएको अधिकारीहरूले बताएका छन् ।
आगो निभाउनका लागि अग्निनियन्त्रकहरूलाई पानीको अभाव भएको र उनीहरूले पौडी पोखरी र पोखरीबाट पानीको जोहो गरिरहेका छन् ।