झापा । वैज्ञानिकहरूले डाइनसोरका पाइला भएको सबैभन्दा ठूलो क्षेत्र फेला परेको बताएका छन् । दक्षिणी इङ्गल्यान्डको एउटा खानीमा विश्वको सबैभन्दा पुरानोमध्येको डाइनसोरका पाइला रहेको ठाउँ भेटेको अक्सफोर्ड विश्वविद्यालयको प्राकृतिक इतिहास सङ्ग्रहालयका डाक्टर इमा निकोल्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
खानी उत्खननका क्रममा १६ करोड ६० लाख वर्षअघि बनेका झन्डै २०० वटा पाइला भेटिएका हुन् । गएको वर्षायाममा पत्ता लागेका यी पाइला विश्वकै सबैभन्दा ठूला पदचिह्न रहेको पनि निकोल्सले बताएका छन् । पाइलाहरूको थप अनुसन्धानपछि समय यकिन गरेर सार्वजनिक गरेको उनले बताए । पाइलाको शृङ्खला १५० मिटरसम्म लामो छ ।
जुरासिक हाइवे नाम दिइएको त्यस ठाउँमा खानीमा खन्ने उपकरण चलाइरहँदा एक कामदारले पाइलाहरू देखेका थिए । ती पाइलाहरू दुई फरक प्रजातिका डाइनसोरका भएको अनुमान छ ।
पाइलाहरूबाट ती जनावर कसरी हिँडडुल गर्थे, कति छिटो हिँड्न सक्थे, कस्तो वातावरणमा बाँचिरहेका थिए लगायतका कुराहरू थाहा हुने वैज्ञानिकहरू बताउँछन् ।
हड्डीको जीवाश्मबाट भन्दा पाइलाहरूबाट फरक जानकारी प्राप्त गर्न सकिन्छ ।