२०८१ पौष २४, बुधवार , १०:०९:२४ बजे

Sajhamanch
'

अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको डढेलो तीव्र गतिमा फैलिँदै

बुधवार, पौष २४, २०८१

झापा । अमेरिकाको लस एन्जलसमा जङ्गलमा लागेको डढेलो तीव्र गतिमा फैलिँदै गएको छ । २० एकड क्षेत्रफलमा डढेलोबाट शुरू भएको आगो आज बिहान केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।

दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले प्रभावित क्षेत्रबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको बताउनुभएको बीबीसीले जनाएको छ ।

वनको आगलागीबाट नजिकैको बस्तीमा १३ हजार भवन जोखिममा रहेका छन् । सामाजिक सञ्जालमा आएका केही भिडियो फुटेजमा प्यासिफिक पालिसेड र त्यस नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देख्न सकिन्छ ।

मानिसहरू आफ्नो घर र गाडी छोडेर भागेका छन् । अहिले त्यहाँ सान्टा आना नामको हावा चलिरहेको छ । यो हावाको बहाव अत्यन्त तीव्र भएका कारण धुवाँको मुस्लो शहर र बस्तीमा प्रवेश गरेको छ ।

जङ्गल नजिकको बाटोमा राखिएका गाडीमा समेत आगो सल्किएको छ । लस एन्जलसका धेरै विद्यालयले आफ्ना विद्यार्थीलाई अर्को विद्यालयमा सारेका बीबीसीले जनाएको छ ।

डढेलो अझै फैलन सक्ने भन्दै क्यालिफोर्नियामा लाखौं मानिसलाई चेतावनी जारी गरेर सावधान रहन अनुरोध गरिएको छ ।

सम्बन्धित खबर