२०८१ पौष २४, बुधवार , ०५:४२:३० बजे

Sajhamanch
'

उद्योग संघद्वारा कचनकवलमा १८० विद्यार्थीलाई न्यानो कपडा स्वेटर वितरण

सोमवार, पौष २२, २०८१

कचनकवल । झापाली उद्योगीहरुको छाता संस्था झापा उद्योग संघले जिल्लाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकाको एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोमा लगाउन न्यानो कपडा स्वेटर वितरण गरेको छ ।

संघले आज सोमबार सुदूर–दक्षिणी कचनकवल–४ स्थित शारदा प्राथमिक विद्यालयमा अध्ययनरत १८० विद्यार्थीलाई स्वेटर वितरण गरेको हो ।

विद्यालय परिसरमा संघका अध्यक्ष यामबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित संक्षिप्त समारोहका बीच प्रमुख अतिथि कोशी प्रदेश सरकारका पूर्व भूमि व्यवस्था तथा सहकारी मन्त्री ओमप्रकाश सरावगी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष एवम् झापा उद्योग संघका पूर्व अध्यक्ष टिकाराज ढकाल लगायतले विद्यार्थीलाई स्वेटर वितरण गरेका हुन् ।

चिसो मौसममा पनि स्वेटर नलगाई विद्यालय आएका विद्यार्थीहरु दाताबाट स्वेटर पाउँदा निकै खुशी देखिन्थे । कक्षा ५ सम्म अध्ययन–अध्यापन हुने सो विद्यालयमा स्थानीय आदिवासी तथा मुस्लिम समुदायका अति विपन्न परिवारका बालबालिका अध्ययन गर्न आउने प्रधानाध्यापक रामप्रसाद गणेशले जानकारी दिए ।

उनले आफ्नो विद्यालयमा पहिलो पटक यसरी दाताहरु आएको बताउँदै जाडो बढ्दै गएको परिप्रेक्ष्यमा विद्यार्थीलाई स्वेटर वितरणले उनीहरुको परिवारलाई पनि ठूलो टेवा पुगेको बताए ।

केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको बेला प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वाँस्तोला र नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले अब शीतलहरसँगै चिसो बढ्ने संभावना रहेकोले पूर्व तयारीका लागि के गर्न सकिन्छ ? भन्ने आग्रह गरेपछि बालबालिकाको स्वास्थ्य संवेदनशीलतालाई समेत मनन गरी संघले सामाजिक उत्तरदायित्व अन्तर्गत अति विपन्न परिवारका छोराछोरी पढ्ने अति कमजोर विद्यालय छनोट गरेर न्यानो कपडा वितरण गरिएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि अग्रवालले स्वेटर वितरणका लागि उपयुक्त विद्यालय छनोट भएको बताउँदै बालबालिकाको शिक्षा, स्वास्थ्य र पोशाकको व्यवस्था राज्यले नै गर्नुपर्ने बताए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष ढकालले विपन्न परिवारका बालबालिकाको शिक्षा–दीक्षाको ग्यारेन्टी सरकारले लिनुपर्नेमा राज्य त्यो सम्पूर्ण दायित्वबाट विमुख भइरहेकोले निजी क्षेत्रले सहयोग पुर्याउँदै आएको सुनाए ।

वडा सदस्य सन्तोष गणेशले कचनकवलको वडा नं ४ निकै पिछडिएको क्षेत्र भएकोले यस क्षेत्रमा राज्यका अन्य संयन्त्र र निजी तथा सामाजिक क्षेत्रका संघ–संस्थाले पनि सहयोगका कार्यक्रम सञ्चालन गरिरहनुपर्ने आवश्यकता रहेको औंल्याए ।

विद्यालयका शिक्षक हेमकुमार गणेशले सञ्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक रामप्रसाद गणेशले स्वागत गरेका थिए ।

सम्बन्धित खबर