२०८१ पौष २४, बुधवार , ०१:५७:०४ बजे

Sajhamanch
'

भारतको कर्नाटकमा दुई जना बालबालिकामा ‘एचएमपीभी’ सङ्क्रमण पुष्टि

सोमवार, पौष २२, २०८१

झापा । भारतको कर्नाटक राज्यमा ह्यूमन मेटान्यूमो भाइरस (एचएमपीभी) को सङ्क्रमण देखिएको छ । नियमित जाँचका क्रममा दुई जना बालबालिकामा एचएमपीभी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये तीन महिनाकी बालिका उपचारपछि घर फर्किएको र आठ महिनाको बालकको बेङ्गलुरुको अस्पतालमा उपचार भइरहेको छ । उपचाररत बालकको अवस्था स्थिर रहेको र उनलाई डाक्टरहरूले निगरानीमा राखेका खबरमा उल्लेख छ ।

एचएमपीभी सङ्क्रमणलाई लिएर अहिलेसम्म चिन्ता गर्नुपर्ने अवस्था नरहेको तथा केन्द्र सरकारले विशेष निगरानी र जाँचका लागि राज्यहरूलाई कुनै विशेष निर्देशन नदिएको कर्नाटकको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुंडूले भारतमा पहिलेदेखि नै एचएमपीभी सङ्क्रमण रहेको र बालबालिका यो भाइरसबाट सङ्क्रमित भइरहेका बताए।

अहिले चीनमा एचएमपीभी भाइरसको सङ्क्रमण फैलिएको छ । कोरोना भाइरसको जस्तै लक्षण रहेको यो सङ्क्रमणबाट सयौं नागरिक बिरामी परेका छन् ।

एचएमपीभी भाइरसबाट साना बालबालिका र कमजोर समूहमा पर्ने वृद्धवृद्धा, दीर्घरोगी उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरूलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरसबाट सङ्क्रमितमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिने जस्ता लक्षण छन् । खोक्दा र हाँच्छ्यु गर्दा भाइरस फैलिने जोखिम धेरै हुने र भाइरसको असरले ब्रोन्काइटिस र निमोनिया हुनसक्ने चेतावनी दिइएको छ ।

सन् २००१ मा पहिलो पटक फेला परेको एचएमपीभी भाइरस सबै मौसममा जीवित रहन सक्ने र तर चिसो मौसममा फैलिने सम्भावना धेरै रहने डाक्टरहरूको भनाइ छ ।

सम्बन्धित खबर