काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला जागे भने मात्रै समाज परिवर्तन हुने बताएका छन् ।
शुक्रबार राजधानीमा भएको सि लिड्स आइकन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाज परिवर्तनको संवाहक महिला नै भएको बताएका हुन् ।
व्यवस्था परिवर्तनपछि पनि अवस्थामा परिवर्तन भएन भन्दै अहिले केही भएन भन्ने भाष्य बनाउन खोजिएको उनको भनाइ थियो ।
‘हिजो महिला जागरण ल्याउन सहज थिएन । आज महिला सामाजिकीकरण, जागरण असाधारण ढंगले भएको छ । महिला जागे भने समाज परिवर्तन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
विगतमा नेपालको राजनीतिक परिवर्तनमा महिलाको उल्लेख्य भूमिका रहेको भन्दै उनले अहिले जिम्मेवारीमा पुगेका महिलाहरूले पुरुषको तुलनामा उत्कृष्ट काम गरिरहेको पनि चर्चा गरे ।