झापा । भर्खरै सकिएको सन् २०२४ मा चिनियाँ गाडी निर्माता कम्पनी बीवाईडीले ४२ लाख वटाभन्दा धेरै कार बिक्री गरेको छ ।
बीवाईडीको बिक्री अघिल्लो वर्षको भन्दा ४१ दशमलव २६ प्रतिशतले बढेर ४२ लाख ७० हजार वटा पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
यसमा पूर्ण विद्युतीय गाडीको सङ्ख्या १७ लाख ६० हजार वटा रहेका छन् । यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतभन्दा धेरै हो । यस्तै हाइब्रिड गाडीको बिक्री २४ लाख वटाभन्दा धेरै पुगेको खबरमा उल्लेख छ ।
बीवाईडीले विदेशमा बेच्ने आफ्नो कारको सङ्ख्या पनि निकै बढाएको छ । सन् २०२४ मा चार लाख १७ हजार वटाभन्दा धेरै विद्युतीय गाडी विदेशमा बिक्री गरेको कम्पनीले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा झन्डै ७२ प्रतिशतले धेरै हो । यसले अन्तर्राष्ट्रिय बजारमा कम्पनीको उपस्थितिलाई निकै बलियो बनाएको छ ।
विद्युतीय गाडीको बिक्रीमा बीवाईडीले अमेरिकी कम्पनी टेस्लालाई उछिन्ने अवस्थामा पुगेको छ । सन् २०२४ मा बीवाईडीले १७ लाख ६० हजार वटाभन्दा धेरै विद्युतीय गाडी बेचेकोमा टेस्लाले १८ लाख वटा हाराहारी बेचेको अनुमान छ ।
चिनियाँ कारको बिक्री विश्वभर बढिरहेको छ । चिनियाँ कारको बिक्री बढ्दा आफ्ना देशका कम्पनी सङ्कटमा परेको भन्दै युरोपेली युनियनले ४५ प्रतिशत थप कर लगाएका छन् । यस्तै अमेरिकाले चिनियाँ विद्युतीय गाडीमा शतप्रतिशत कर लगाइदिएको छ ।