काठमाडौं । युरोपेली देश मोन्टेनेग्रोमा गोली चल्दा दुई बच्चासहित १० जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते छन् । यो घटनापछि मोन्टेनेग्रो सरकारले विहीबारदेखि तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।
प्रहरी अधिकारीहरुका अनुसार देशको दक्षिणी क्षेत्रको रेष्टुरेन्टमा बुधबार एक हतियारधारीले आक्रमण गरेका थिए । आक्रमणपछि उनले आफैंलाई गोली हानी आत्महत्या गरेका थिए ।
सरकारका गृहमन्त्रीका अनुसार बन्दुकधारीले एकै परिवारका सदस्य, रेष्टुरेन्ट मालिक र दुई बच्चाको हत्या गरेका हुन् । यो घटनालाई उनले ‘भयानक घटना’ भनेका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार गोली लागेर चार जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।