२०८१ पौष १३, शनिवार , ०५:४२:०९ बजे

Sajhamanch
'

एनएमसीमा प्रशिक्षक प्रशिक्षण तालिम

शनिवार, पौष १३, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा सदस्य शिक्षा तालिम सञ्चालन गर्ने आन्तरिक प्रशिक्षकहरुलाई एक दिवसीय पुनः ताजगी तालिम प्रदान गरिएको छ ।

संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजना तथा संयोजक डम्बरबहादुर बस्नेतको अध्यक्षतामा आज बिर्तामोडमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको हो ।

सो प्रशिक्षक प्रशिक्षण तालिममा नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक सेवक बजगाईंले प्रशिक्षण सीप र कलाका बारेमा सहजीकरण गरेका थिए । प्रशिक्षणका विभिन्न सन्दर्भहरु पार गरेर आएका दर्जनौं प्रशिक्षकहरुलाई अझ राम्रो कसरी गर्ने भन्ने कला, विधि, पद्धति एवम् तरिका सिकाउनु प्रशिक्षक प्रशिक्षण तालिमको उद्देश्य रहेको स्मरण गराउँदै उनले यसका सीपहरु सिकाएका थिए ।

प्रशिक्षण कला जति राम्रो भयो सहभागीहरु उत्ति नै उत्सुकतापूर्वक तालिममा रुचि राख्छन् भन्ने दर्शाउन बजगाईंले तालिमको वातावरण तयार गर्नु तथा तालिमको व्यवस्थापन गर्न सक्नु सफल प्रशिक्षकको गुण रहेको सुझाए ।

यसैगरी प्रशिक्षक प्रशिक्षण तालिमको अर्को विषय उद्यमशीलताका विषयमा पनि प्रमुख प्रशिक्षक बजगाईंले सहजीकरण गरेका थिए । उनले उद्यमी हुनुको फाइदा, उद्यमीको बाटो, उद्यमी कसरी बन्ने, उद्यमशीलता के हो ? आदि विषयमा प्रकाश पारेका थिए ।

सो प्रशिक्षक प्रशिक्षण तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सहकारीको सफलता वा असफलतामा सदस्यहरुको भूमिका कस्तो रहन्छ ? सहकारी सफल हुनका लागि कुन कुन पक्षहरुको भूमिका कस्तो हुन्छ ? जस्ता विषयमा प्रकाश पारेका थिए ।

शिक्षा तथा तालिम उपसमितिका सदस्य गोपाल काफ्लेले सम्पूर्ण सहभागीहरुलाई शाब्दिक स्वागत गर्दै संस्थाका ५९ वटै बचत तथा ऋण कारोबार गरिरहेका सेवा केन्द्रहरुमा एनएमसीले निकट भविष्यमा सञ्चालन गर्ने सेकेण्डरी लेभलको सदस्य शिक्षा कार्यक्रमको तयारीका लागि प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरिएको जानकारी गराए ।

तालिम सम्पन्न हुँदै गर्दा अनुभूति मन्तब्य राख्दै संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक रचना दाहालले पुनःताजगी तालिम फलदायी बनेको बताइन् । उनले उद्यमशीलताको आवश्यकता पर्ने युवा जति सबै विदेश पलायन भएकाले यसको सान्दर्भिकता कति रहन्छ भन्ने प्रश्न पनि उठाइन् ।

उपसमितिका सदस्य सचिव एवम् सामुदायिक विभाग प्रमुख अरुणकुमार प्रधानले सञ्चालन गरेको सो कार्यक्रममा महिला सशक्तिकरण उपसमितिका संयोजक कविता पौडेल र झापा बजार सेवा केन्द्रगत उपसमितिका सदस्य रामप्रसाद ठाकुरले अनुभूति मन्तब्य पस्किएका थिए ।

सम्बन्धित खबर