२०८१ पौष १२, शुक्रवार , ०३:५८:०९ बजे

Sajhamanch
'

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूले आज जनकपुरधाममा ‘ट्रफी परेड’ गरेका छन् ।

गएराति जनकपुर पुगेका खेलाडीहरूले आजदेखि मधेश प्रदेशमा ट्रफी परेड शुरू गरेका हुन् । जसअन्तर्गत पहिलो दिन आज जनकपुरधाममा भव्य नगर परिक्रमा गरिएको हो ।

रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट शुरू भएको ट्रफी परेड थापा चोक हुँदै पिडारी चोक, रामानन्द चोक, विश्वकर्मा चोक, मुरली चोक, रामचोक हुँदै जानकी मन्दिरमा समापन भएको थियो ।

पुस ६ गते सम्पन्न एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्स विजेता बनेको थियो । जनकपुरले ट्रफीसहित एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको हो ।

ट्रफी परेड मधेश प्रदेशका अरू जिल्लामा पनि हुनेछ । भोलि महोत्तरी, सप्तरी र रौतहट जिल्लामा पुग्ने कार्यक्रम छ भने पर्सि बारा र पर्सामा गरिनेछ । यस्तै चौथो दिन सिरहा र सप्तरीमा कार्यक्रम आयोजना गरी ट्रफी परेड पूरा गरिने जनकपुर बोल्ट्सले जनाएको छ ।

सम्बन्धित खबर