२०८१ पौष १२, शुक्रवार , १०:३३:०२ बजे

Sajhamanch
'

भीम रावल एमालेबाट आफैं निक्लिएका हुन् : शंकर पोखरेल

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भीम रावललाई आफूहरुले पार्टीबाट निकालेको नभई आफैं निक्लिएको बताएका छन् ।

शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भने, ‘हरेक पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ र ? त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफैँ निक्लिएको हो भन्ने बुझ्नु पर्दछ ।’

भीम रावल एमालेको मूल्य मान्यता र अनुशासन भित्र बस्न नसकेको पोखरेलको भनाइ छ । संसद् भित्रको संसदीय ह्विप उल्लंघन गरेकै दिनबाट भीम रावलले एमाले छाडिसकेको पोखरेलले बताए ।

संसद विघटनपछिको परिस्थितिमा नेकपाको प्रचण्ड र माधव नेपाल पक्षधरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा भीम रावलसहितका नेताहरु विपक्षमा उभिएका थिए ।

रावल आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जङ्गी शासन लगाउने तर आफू भने अनुशासनमा नबस्ने प्रवृत्तिको नेता भएको पोखरेलले आरोप लगाए । ‘आफू जिम्मेवारीमा रहँदा जंगी अनुशासन लगाउने मान्छे, आफू चाहिँ जिम्मेवारीमा बस्नु पर्दैन ?’, पोखरेलले प्रश्न गरे । एमालेले रावललाई सुध्रिने अवसर दिए पनि उनी नसुध्रिएको पोखरेलको धारणा छ ।

पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई रावलले बेवास्ता गरेको पोखरेलले बताए । त्यसको अर्थ उनले पार्टी छाडिसकेको पोखरेलको भनाइ छ ।

सम्बन्धित खबर