विराटनगर । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सरकारले भविष्यमा निर्माण गर्ने ३८५ वटा सडकको सूची सार्वजनिक गरेको छ ।
प्रदेश सरकारका रणनीतिक सडक सञ्जाल पहिचान र वर्गीकरणका लागि प्रदेश सार्वजनिक सडक ऐन २०७७ को मापदण्ड अनुसार मन्त्रालयले उक्त सडकको सूची राजपत्रमा प्रकाशित गरेको हो ।
जसमा प्रादेशिक सहायक लोकमार्ग अन्तरगत ९६ वटा सडक (३१६३.५८ किमी) र प्रादेशिक मार्ग २८९ वटा (५८१५.५० किमी) सडक प्रादेशिक सडक सञ्जाल सूचीमा रहेका छन् । जुन सडक निर्माण गर्न अर्ब होइन खर्ब बजेट आवश्यक पर्छ ।
‘संघले रोजेको सडक संघले निर्माण गर्छ । प्रदेशले सूची बनाएको छ त्यो प्रदेशले बनाउँछ र बाँकी सडकहरू स्थायी तहले बनाउँछ,’ भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले भने, ‘प्रदेश सरकारले सार्वजनिक गरेको सडक सञ्जालको सूचीमा रहेका सडकहरू संघ र स्थानीय तह अन्तर्गत पर्दैनन् ।’ संघको सडक पूर्वपश्चिम महेन्द्र राजमार्ग, मदनभण्डारी राजमार्ग, हुलाकी राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्ग, गाइघाट–दिक्तेल सडकलगायत हुन् ।
मन्त्रालयले ती सडक निर्माण गर्न कति बजेट आवश्यक हुन्छ भन्ने विषयमा भने टुंगो लगाएको छैन । ‘ती सडकमध्ये जुन निर्माण गर्ने हो त्यसको मात्रै डिपिआर गर्ने हो । एकैपटक सबैको डिपिआर हुँदैन । क्रमैसँग हुन्छ,’ भन्त्री राईले भने । सडक सञ्जाल सूचीमा रहेका सडक बाहेक अन्य सडकहरू बीचमा ल्याएर निर्माण नगरिने उनले बताए । ‘उक्त सूचीमा रहेका कतिपय सडकहरू बनिरहेका छन् । कतिपय चालू छन्, कतिपय पाइपलाइनमा छन् । कतिपय पाइपलाइनमा पनि नभएको सडक छन् । अब यी बाहेकका सडकहरू स्थानीय तहको अधिकार क्षेत्रमा रहन्छन्,’ उनले भने ।
उनका अनुसार प्रादेशिक सडक सञ्जाल सूचीमा राखिएका ती सडकहरू २ किलोमिटरदेखि १ सय ८ किलोमिटर लामा सडकहरू छन् । सञ्जालमा राखिएका सडकहरू कुनै कालोपत्रे गर्ने र कुनै ग्राभेल गर्ने काम क्रमशः हुँदै जाने मन्त्री राईले बताए ।
सडक सञ्जालको सूची प्रकाशित गर्नु पनि महत्त्वपूर्ण कुरा भएको उनी बताउँछन् । ‘यो धेरै महत्त्वपूर्ण कुरा हो । अहिलेसम्म प्रदेशका सडकहरू कुन हो भन्ने कुराको पहिचान नै भएको थिएन । सूची बनाउने काम ७६ सालदेखि सुरु भएको रहेछ । निर्णय गर्न नसकेर रोकिएको रहेछ । म मन्त्री भएर आएपछि आवश्यक छलफल गरेर यसलाई टुङ्ग्याइएको हो,’ मन्त्री राईले भने । उनका अनुसार सूची निर्माण गर्न नसक्नुको मुख्य कारण भनेको अनावश्यक दबाब हो । ‘जथाभाबी सडकहरू सञ्जालमा राख्नुपर्छ भन्ने दबाब रहेछ । तर, आवश्यक मापदण्ड बनाएर त्यो भित्र पर्नेलाई मात्रै सञ्जालमा राख्ने भन्ने निर्णय गरेपछि यो निष्कर्षमा पुगेको हो,’ उनले भने ।
सार्वजनिक भएको प्रादेशिक सहायक लोकमार्गको सूचीमा ७६.४५३ किलोमिटर लामो लरुम्बा– भञ्ज्याङ– इभाङ– गजुरमुखीधाम – मंगलबारे– शान्तिडाँडा– नेपालटार सडक (लरुम्बा– नेपालटार) सडक, ६३.५७७ किलोमिटर लामो भेडेटार– राजारानी रवि राँके सडक, ७० किलोमिटर लामो बहन्डे बजार–थाङ्ला भञ्ज्याङ सडक छन् ।
यसैगरी ५० किलोमिटर लामो जोरबौद्ध– गर्मा– नेले– चारघरे – मुक्लि –फुलुङ – झरेनी – देउसा – बुङ – गुदेल – सनम – साल्पा सडक, ५४ किलोमिटरको हिले – बोहोराटार सडक, ७४ किलोमिटर लामो टक्सार एरपोर्ट मोड– पिखुवा खोला–कोट– गोगने–पानधारे–तावा भञ्ज्याङ–नविन राई सडक कार्तिके–दिक्तेल बजार सडक, ५५ किलोमिटरर लामो भस्मे–मुर्कुची–ख्यातुङ– भुटार–बराहा–बासबोटे– कुनाई सडक, ७२ किलोमिटर लामो लिखु–कुवापानी–नरकटे– चिलाउने–कोष भञ्ज्याङ– कटुन्जे–थापा चोक–धुस्के सडक, १०८ किलोमिटर लामो रानिटार–पाङछा–बलङ्खा– युन–पाप्माखाम सडक, ९७ किलोमिटर लामो कोथु–हसनपुर–घेडेटार– कोटडाँडा–भोजपुर सडकलगायत गरी ३ हजार १६३.५८ किलोमटर प्रादेशिक सहायक लोकमार्ग रहेका छन् ।
यस्तै प्रादेशिक मार्गको सूचीमा रहेका सडकहरुमा ५५ किलोमिटर लामो माझखर्क – थुम्का – प्याङ्ग– चर्खुवा – मेग्बर्ने –भिगाँउ– मिलन चोक सडक, ५२ किलोमिटर लामो ल्हाप्रा – नुनथला – जुभिङ – खरिखोला – पैया – चौरीखर्क सडक देखि ४८ किलोमिटर लामो कार्कीगाँउ–सिँवा–खैजेनिम–साँवा– पापुङ्ग सडक तथा ८४ किलोमिटर लामो सङ्क्रान्ति बजार–ह्वाकु–बिजुरे– लिम्बुनी–निघुरादिन–जुकेटार– हाङपाङ्ग–पभेक–फ्यातु–साँघु सडकलगायत रहेका छन् ।