झापा । क्यानडाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको टकरावपछि राजीनामा दिएकी छन् ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउन सक्ने करको मुद्दामा दुई जनाबीच मतभेद थियो । यो राजीनामा प्रधानमन्त्री ट्रुडोका लागि अप्रत्याशित धक्का मानिएको बीबीसीले जनाएको छ ।
ट्रुडोले क्यानडामा अल्पमतको सरकार चलाउँदै आएका छन् । फ्रिल्यान्डको ठाउँमा क्यानडाका सार्वजनिक सुरक्षामन्त्री डोमिनिक लेब्ल्याङ्कलाई अर्थमन्त्री बनाइएको छ । फ्रिल्यान्डले उपप्रधानमन्त्री पद छोडेपछि विपक्षी दलहरूले ट्रुडोको राजीनामा मागेका छन् ।
ट्रुडोका सहयोगी क्यानडाको एनडीपी पार्टीका नेता जगमीत सिंहले पनि प्रधानमन्त्रीको राजीनामा मागेको खबरमा उल्लेख छ ।
लिबरल पार्टीका नेता ट्रुडो पहिले नै सर्वेक्षणमा कन्जरभेटिभ पार्टीका नेता पियरे पोलिभ्रेभन्दा २० प्रतिशतले पछि छन् । सर्वेक्षणअनुसार पहिलो पटक प्रधानमन्त्री हुँदा ६३ प्रतिशत समर्थक रहेकामा अहिले ट्रुडोको २८ प्रतिशत मात्रै समर्थक रहेका छन् ।