२०८१ पौष २, मङ्गलवार , १२:४०:३१ बजे

Sajhamanch
'

सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण परिणामउन्मुख भएको छैन : सभामुख घिमिरे

मङ्गलवार, पौष २, २०८१

काठमाडौं ।  सभामुख देवराज घिमिरेले सङ्घीयतालाई बलियो बनाउने कानुन निर्माण गर्न नसकिएको स्वीकार गरेका छन् । उनले कानुन बनाउन संसद्को प्रयत्न र प्रयास पर्याप्त रहे पनि परिणाम आउन नसकेको उल्लेख गरे ।

पोखरामा मंगलबारदेखि अन्तर व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै उनले संसारमा संसद् प्रभावकारी भए मात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्ने गरेका उदाहरण रहेको बताए । ‘सङ्घीयतालाई बलियो बनाउने कानुन निर्माण गर्न संसद्को प्रयत्न र प्रयास पर्याप्त रहे पनि परिणाम आउन सकेको छैन,’ उनले भने ।

सभामुख घिमिरेले लामो राजनीतिक आन्दोलनले धेरै व्यवस्थाहरू परिवर्तन गरेको भन्दै राष्ट्र निर्माणका लागि सबै शक्ति लगाउनुपर्नेमा जोड दिए ।

सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरू निर्माण गर्न ढिला भएको बताउँदै सभामुख घिमिरेले आगामी अधिवेशनमा ती विधेयक पारित गर्न संसद्ले सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

‘आधारभूतरुपमा सङ्घीयताको पक्षमा भएका र संविधान निर्माणमा योगदान गरेका दलहरू नेतृत्वमा रहेकाले संविधान अनुकूल निर्माण गर्नुपर्ने कानुन बन्नेमा आशावादी बन्न सकिन्छ,’ उहाँले भन्नुभयो ।

सभामुखले संविधान संशोधनको बहसका बिच भएको सङ्घीय संसद् र प्रदेश सभासहितको सम्मेलन अर्थपूर्ण रहेको बताए । उनले सङ्घीय संसद् र प्रदेश सभालाई प्रभावकारी बनाउन अन्तर व्यवस्थापिका सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित खबर