काठमाडौं । सभामुख देवराज घिमिरेले समाजमा संसदीय व्यवस्थाको महत्त्व बुझाउने, यसको गतिविधि जनतनमा पुर्याउन र यसको उचाइ बढाउन संसदीय पत्रकारिता महत्त्वपूर्ण रहेको बताएका छन् । सोमबार संसदीय पत्रकारिता, अवधारणा र अभ्यास’ नामक पुस्तकको विमोचन गर्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन् ।
घिमिरेले जनरल पत्रकारिताभन्दा संसदीय पत्रकारिता विशिष्ट काम भएको समेत बताए । संसद्को विशेष अधिकार ठिक ढङ्गले लान पत्रकारहरूले मिहिनेतपूर्वक काम गरेको समेत उनले बताए । सभामुख घिमिरेले भने, ‘२०४६ पश्चात् पत्रकारिताले विशिष्ट भूमिका खेलेको छ । संसदीय मामिलाको गतिविधि र लेखेको समाचारले सांसदहरूलाई संसद्मा गएर के गर्न हुन्छ हुँदैन भन्नेमा जिम्मेवारी बहन गराउन भूमिका निर्वाह गरेका छन् ।’
उनले पत्रकार र सांसदबिच भएको सहकार्यले लोकतन्त्रलाई बलियो बनाएको समेत बताए । ‘हामीभित्र शासन प्रणालीको कमजोरीलाई देखाएर व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको सन्दर्भमा पत्रकारले पनि भूमिका खेल्नुपर्छ’ उनले भने ।
उनले अहिले १५–२० वटा विधेयक समितिमा रहेको बताउँदै सांसद उत्तरदायी भएनन् भन्ने बाहिर म्यासेज गएको समेत बताउँदै त्यसमा आफ्नो ध्यान गएको बताए । उनले भने, ‘यस्तो बेला यी समिति नियमित ढङ्गले सञ्चालन गर्न मैले दलका नेता तथा समितिका सभापतिलाई एकल र फरक फरक बसेर बारम्बार निर्देशन दिने काम गरेको छु ।’
घिमिरेले सङ्घीयतामाथि प्रश्न उठेका बेला ऐन बनाउने विषयमा मुख्य मुख्य विधेयक पास गर्न आफूले पटक पटक निर्देशन दिएको बताए । उनले भने, ‘हामीभित्र केही समस्या छ, जनताको संसद्प्रतिको सकारात्मक धारणा हिजोभन्दा घट्दै गएको छ । यी कुरामा सबैले ध्यान दिनुपर्छ ।’