झापा । विश्व प्रसिद्ध भारतीय तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ । उनको निधन भएको सोमबार बिहान परिवारले पुष्टि गरेको छ । हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए ।
भारतीय मिडियाले उनका परिवारलाई उदृत गर्दै भनिएको छ, ‘उनी पछिल्लो दुई सातादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना थिए ।’ उनको अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । उनले त्यहीँ अन्तिम श्वास फेरे ।
जाकिरको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो । उस्ताद जाकिर हुसैनलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्मविभूषण प्रदान गरिएको थियो ।
उनका पिताको नाम उस्ताद अल्लाहराखा कुरैशी र आमाको नाम बावी बेगम थियो। जाकिरका पिता अल्लाह राखा पनि तबला वादक थिए। जाकिर हुसैनले आफ्नो प्रारम्भिक शिक्षा मुम्बईको माहिमको सेन्ट माइकल स्कूलबाट गरेका थिए ।
मुम्बईको सेन्ट जेभियर कलेजबाट स्नातक गरे्काअ हुसैनले ११ वर्षको उमेरमा अमेरिकामा आफ्नो पहिलो कन्सर्ट गरेका थिए । सन् १९७३ मा उनले आफ्नो पहिलो एल्बम ’लिभिङ इन द मटेरियल वर्ल्ड’ सार्वजनिक गरेका थिए ।
हुसैनले सन् २००९ मा आफ्नो पहिलो ग्रामी पुरस्कार प्राप्त गरे । सन् २०२४ मा उनले ३ फरक एल्बमका लागि ३ ग्रामी जिते भने कुल ४ वटा ग्रामी अवार्डबाट उनी सम्मानी भएका थिए ।