काठमाडौं । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी राष्ट्रिय सहकारी बैंकका अध्यक्ष परिवर्तन गरिदिएको छ । अध्यक्षको उम्मेदवार नै बन्न नपाउनेमा फर्जी कागज पेस गरेर बैंकको नेतृत्वमा पुगेका केबी उप्रेतीलाई राष्ट्र बैंकले हटाउन लगाएको हो ।
राष्ट्र बैंकको हस्तक्षेपपछि उप्रेतीको ठाउँमा झापाको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्ने महेन्द्रकुमार गिरी बैंकको अध्यक्ष चयन भएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।
‘राष्ट्र बैंकले उप्रेतीलाई हटाएर सञ्चालक समितिका सदस्य मध्येबाट योग्यता पुग्ने व्यक्तिलाई अध्यक्ष बनाउन निर्देशन दिएको थियो । त्यही अनुसार गिरीलाई सञ्चालक समितिले अध्यक्ष चयन गरेको हो । शनिबार बस्ने साधारणसभाले त्यसलाई अनुमोदन गर्नेछ’ राष्ट्र बैंक स्रोतले भनेको छ ।
उप्रेती पछिल्लो पटक १६ पुस २०७९ मा सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाबाट बैंकको अध्यक्षमा निर्वाचित भएका थिए । सदस्य संस्था र संघबाट लिएको ऋण तिर्न नसकी भाखा नघाएको व्यक्ति निर्वाचनको उम्मेदवार हुन नसक्ने योग्यता तोकिएको थियो ।
उप्रेती अध्यक्ष भएको आइडियल यमुना हाम्रो सगरमाथा सहकारीले राष्ट्रिय सहकारी बैंकमा करिब ३० करोड रुपैयाँ ऋण तिर्न बाँकी थियो, जसको सावाँ ब्याज नतिरी सो ऋण भाखा नाघेको अवस्था थियो । यस्तो अवस्थामा उप्रेती अध्यक्षको उम्मेदवार नै बन्न पाउँदैन थिए ।
तर, उनले त्यो कुरा नखुलाई काठमाडौं जिल्ला सहकारी संघको तर्फबाट उम्मेदवारी हालेका थिए । त्यसरी यथार्थ लुकाएर पेस गरेको फर्जी दस्तावेजलाई बैंकको निर्वाचन समितिले समेत स्वीकार गरेको पाइएको राष्ट्र बैंक समेतको सहभागितामा सहकारी विभागले गरेको अनुगमनका क्रममा खुलेको थियो ।
उप्रेतीले आफैं अध्यक्ष रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीले ऋण नलिएको वा लिएको ऋण तिर्न नसकी भाखा नघाएको अवस्था नरहेको व्यहोरासहितको पत्र मनोनयन सम्बन्धी फाइलमा समावेश गरेका थिएनन् ।
उक्त साधारणसभामा सञ्चालक समितिको निर्वाचनका लागि बैंक सञ्चालक समितिले अधिवक्ता सुमन पौडेलको संयोजकत्वमा निर्वाचन उपसमिति गठन गरेको थियो ।
राष्ट्र बैंकले यही आधारमा उप्रेतीलाई पदबाट हटाउन सञ्चालक समितिलाई निर्देशन दिएको स्रोतले बतायो ।