२०८१ माघ १२, शनिवार , ११:४०:४३ बजे

Sajhamanch
'

मानव अधिकार उल्लंघनको आरोपमा चिनियाँ र रूसी कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

बुधवार, मंसिर २६, २०८१

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले मङ्गलबार मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै दुई चिनियाँ कम्पनी र रुसका धेरै कम्पनीसहित आठ कम्पनीमा व्यापार प्रतिबन्धको घोषणा गरेको छ ।

अमेरिकी अधिकारीहरूले पहिचान गरेका चीनका कम्पनीहरूमा झेजियाङ युनिभ्यु टेक्नोलोजी पर्दछ । ती कम्पनीमाथि उइगुर र अन्य जातीय तथा धार्मिक अल्पसङ्ख्यक समूहहरूको निगरानी जस्ता मानव अधिकार उल्लङ्घनलाई सहयोग गरेको आरोप लगाइएको छ ।

अमेरिकी वाणिज्य मन्त्रालयले नामकरण गरेको अर्को फर्म बेइजिङ झोङडुन सुरक्षा प्रविधि समूह थियो । उक्त कम्पनीले सार्वजनिक सुरक्षा अधिकारीहरूलाई अधिकार उल्लङ्घन गर्न अनुमति दिने उत्पादनहरू विकास र बिक्री गरिरहेको आरोप लगाइएको छ ।

यी व्यवसायहरूलाई अमेरिकाले आफ्नो प्रतिबन्धको सूचिमा थपेको छ । सूचीमा थपिएपछि अमेरिकी कम्पनीहरूलाई तिनीहरूलाई निर्यात गर्नुअघि अनुमतिपत्र लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ ।

‘मानव अधिकार हनन संयुक्त राज्य अमेरिकाको विदेश नीतिको हित विपरीत छ’, उद्योग र सुरक्षाका लागि वाणिज्य उपमन्त्री एलन एस्टेवेजले विज्ञप्तिमा भनेका छन्, ‘यी कम्पनीहरूलाई प्रतिबन्धको सूचीमा थप्नुको उद्देश्य अमेरिकी प्रविधि मानव अधिकार उल्लङ्घन र दुर्व्यवहारका लागि प्रयोग गरिएको छैन भनेर सुनिश्चित गर्नु हो ।’

अमेरिकी सरकार र अन्य पश्चिमी देशका कानुन निर्माताहरूले उत्तर–पश्चिमी सिन्जियाङ क्षेत्रमा उइगुर अल्पसङ्ख्यकहरूप्रति चीनले गरेको व्यवहारप्रति प्रश्न उठाउँदै आएका छन् ।

अधिकार समूहहरूले कम्तिमा १० लाख मानिस खासगरी मुस्लिम अल्पसङ्ख्यकका सदस्यहरू यस क्षेत्रमा कैद गरिएको र विभिन्न दुर्व्यवहारको सामना गरेको बताएका छ । यद्यपि बेइजिङले ती आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गर्दै आएको छ ।

मङ्गलबारका अन्य लक्षित कम्पनीमा म्यानमाका दुई र रुसका अर्को दुई कम्पनीहरू पर्दछन् । ती कम्पनीले म्यानमाको सेनालाई नागरिकहरूविरुद्ध हवाई आक्रमण जस्ता कार्यहरू गर्न अनुमति दिने सामग्रीहरू उपलब्ध गराउँछन् ।

अन्य दुई रुसी संस्थालाई मस्कोलाई अनुहार पहिचान प्रविधि उपलब्ध गराएको कारण समावेश गरिएको छ । ती संस्थाको उद्देश्य ‘शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई लक्षित गर्नु’ हो र यो रूसको व्यापक निगरानी प्रणालीको एक महत्त्वपूर्ण अवयव हो ।

सम्बन्धित खबर