झापा । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले संसद् भवन जाने कार्यक्रम स्थगित गरेका छन् ।
संसद्मा उपस्थित भएर मार्सल कानून लागू गर्नुपर्ने कारणबारे जानकारी गराएर महाभियोगको प्रतिरक्षा गर्ने तयारी रहेकोमा अन्तिम समयमा स्थगित भएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति संसद् भवन जाने भएपछि रोक्नका लागि विपक्षी सांसदसहित प्रदर्शनकारीहरूले मानव पर्खाल बनाएका थिए । महाभियोगमा मतदान भोलिका लागि तय भएको प्रमुख विपक्षी दलले जनाएको छ । प्रस्ताव पारित गर्न आवश्यक सङ्ख्या जुटाउन सकिन्छ भन्ने पक्का भएलगत्तै मतदान हुने पनि पार्टीले भनेको छ ।
तीन सय सिटको संसद्मा प्रतिपक्ष दलका एक सय ९२ सिट छ । प्रस्ताव पारित गर्न सत्तारूढ दलका आठ जना सांसदको समर्थन जुटाउन पर्नेछ ।
सत्तारूढ दलका नेता हान डोङ–हुनले राष्ट्रपति युन सुक येओलको संवैधानिक अधिकारलाई निलम्बन गर्न आवश्यक रहेको बताएकाले महाभियोग प्रस्तावमा सत्तारूढ पार्टीका सांसदहरूले पनि मतदान गर्न सक्ने बीबीसीले जनाएको छ ।
यसैबीच राष्ट्रपति युनले सत्तारूढ दलका नेता हान डोङ–हुनलाई पनि पक्रने आदेश दिएको खुलासा भएको छ । मङ्गलवार राति मार्सल ल लागू गर्दाखेरि राष्ट्रपतिले डोङ–हुनलाई पक्राउ गर्ने आदेश दिएको खुलेको हो । हुनसहित प्रमुख प्रतिपक्ष दलका नेता लि जेय–मेयुङलगायतलाई पक्राउ गर्ने तयारी रहेको खुलेको बीबीसीको खबरमा उल्लेख छ ।