झापा । बेल्जियम यौनकर्मी महिलालाई श्रम अधिकार दिने विश्वकै पहिलो राष्ट्र बनेको छ । नयाँ कानुन बनेपछि अब बेल्जियममा यौनकर्मीले स्वास्थ्य बीमा, निवृत्तिभरण, बिरामी बिदा र सुत्केरी बिदाको सुविधा पाउने छन् ।
बिबीसीका अनुसार, डिसेम्बर १ देखि लागू भएको यस कानुनमा यौनकर्मीलाई अन्य कर्मचारीसरह रोजगारी र सुरक्षा दिने प्रयास गरिएको छ ।
सन् २०२२ मा बेल्जियममा यौन कार्यलाई अपराधमुक्त घोषित गरिएको थियो । त्यसबेलादेखि देशमा यौनकर्मीलाई पनि सुरक्षा, रोजगारी, स्वास्थ्यलगायत अधिकार दिन माग हुँदै आएको थियो ।
बेल्जियमको नयाँ कानुनअनुसार, अब यौनकर्मीलाई यौन सम्पर्क गर्न अस्वीकार गरेमा तथा बिदा लिएको अवस्थामा कामबाट निकाल्न पाइने छैन । मानव अधिकारकर्मीले नयाँ कानुनको प्रशंसा गरेका छन् ।
हृयुमन राइट्स वाचका एरिन किल्ब्राइडले क्रान्तिकारी कदम भएको बताए । यौनकर्मीको सुरक्षाका लागि बेल्जियमले विश्वकै उत्तम कदम लिएको उनको भनाइ छ ।