बेइजिङ । चीनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीच मंगलबारको भेटवार्ताका क्रममा सीले नेपाललाई ५०० मिलियन आरएमबी (करिब नौ अर्ब रुपैयाँ) दिने घोषणा गरेको जनाएको छ ।
प्रधानमन्त्री ओली र सी बीच बेइजिङमा आज मंगलबार दिउँसो द्विपक्षीय भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीसँगको भेटमा राष्ट्रपति सीले यस्तो घोषणा गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।
तर, यो सहयोग रकम नेपाल र चीनबीच मंगलबार नै भएका आर्थिक तथा प्राविधिक सहयोग, नगद सहयोग सम्झौता अन्तर्गत नै हो वा फरक हो भन्ने चाहिँ स्पष्ट छैन ।
भेटका अवसरमा राष्ट्रपति सी ले नेपाली वस्तु चीनमा निर्यात गर्न प्रोत्साहन गर्ने आश्वासनसमेत दिएको ढकालले जानकारी दिए । ‘नेपाल र चीनबीचको सम्बन्ध सद्भाव, सम्मान र सहयोगमा आधारित छ । नेपालको विकास र समृद्धिमा चीनको सधैं साथ रहन्छ,’ राष्ट्रपति सीलाई उद्धृत गर्दै परराष्ट्रका प्रवक्ता ढकालले बताए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको नेपाल भ्रमणको निम्तो दिएका थिए । राष्ट्रपति सीले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताएको प्रवक्ता ढकालले बताए ।