काठमाडौं । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको नतिजा मतदान सकिएको दुई दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुई दिनभित्र सबै स्थानीय तहको नतिजा सार्वजनिक गर्नेगरी आयोगले आफ्नो काम गरेको बताए ।
‘मतदान सम्पन्न भएको भोलिपल्ट नै अधिकांश स्थानको नतिजा आइसक्छ’, प्रमुख थपलियाले रातोपाटीसँग भने, ‘कुनै अवरोध भएन र स्मुथली काम गर्न दिने हो भने मतदान भएको दुई दिनभित्र नतिजा आइसक्छ ।’
कानुन अनुसार मतदान भइसकेर मतपेटिका जम्मा भइसकेपछि राजनीतिक दलको सहमति जुटाएर मात्र मतगणना सुरु गर्नुपर्ने अवस्था रहेको छ । पालिका अध्यक्ष, उपाध्यक्ष, नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षसहित ४१ पदका लागि मङ्सिर १६ गते आइतबार मतदान हुँदैछ ।