२०८१ पौष २८, आइतवार , ०२:३०:५२ बजे

Sajhamanch
'

क्यानडाको जङ्गलमा ५ हप्ताअघि हराएका युवक जीवितै भेटिए

बिहिवार, मंसिर १३, २०८१

झापा । क्यानडाको ब्रिटिश कोलम्बियाको जङ्गलमा पाँच हप्ताअघि हराएका युवक जीवितै भेटिएका छन् ।

पाँच हप्ताअघि उत्तरी ब्रिटिश कोलम्बियाको जङ्गलमा पदयात्रा गर्न हिँडेका २० वर्षका साम बेनास्टिक जीविकै भेटिएका क्यानडाका प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनको उपचार भइरहेको र स्वास्थ्य अवस्था राम्रै रहेको खबरमा उल्लेख छ ।

जङ्गलमा अलपत्र परेको अवस्थामा बेनास्टिकलाई अस्ति दुई जना कामदारले देखेपछि उद्धार भएको थियो । उनी हिउँले ढाकिएको जङ्गलमा ३५ दिनसम्म हराएका थिए ।

गएको अक्टोबर ७ तारिखमा उनी १० दिनको पदयात्रा र माछा मार्नका लागि जङ्गल प्रवेश गरेका थिए । तर १९ तारिखसम्म पनि नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

उनी हराएको जङ्गलको तापक्रम माइनस ३० डिग्री सेल्सियसम्म रहेकाले कसरी बाँच्न सफल भए भन्ने आश्चर्यको विषय भएको प्रहरीले जनाएको छ ।

बेनास्टिकको खोजीमा ठूलो सङ्ख्यामा प्रहरी, खोज र उद्धार टोलीका साथै क्यानाडाली रेन्जर र स्वयंसेवकहरू संलग्न थिए । खोज अभियानमा हेलिकप्टर, विमान, ड्रोन र १२० जना प्रशिक्षित स्वयंसेवक संलग्न रहेका थिए ।

३५ सय घण्टासम्म सयौं वर्ग किलोमिटरको कुनाकुनामा खोजी गर्दा पनि उनी नभेटिएपछि खोजकर्ता र परिवार आशा मार्ने अवस्थामा पुगेका थिए ।