काठमाडौं । इजरायलले ‘केयरगिभर’मा उत्तीर्ण सबै नेपाली श्रमिकलाई क्रमशः लैजाने प्रतिबद्धता जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग हिजो भएको भेटमा नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले यस्तो प्रतिबद्धता जनाएका हुन ।
भेटवार्तामा नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ‘केयरगिभर’का रूपमा छनोट भएका नेपाली कामदारहरूलाई यथाशीघ्र इजरायल पठाउने र कामदारको स्रोत देशका रूपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले मन्त्री भण्डारी र राजदूत बासबीच कृषि, निर्माणलगायत अन्य क्षेत्रमा नेपाली कामदार पठाउनका लागि पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हकअधिकार संरक्षण र सुरक्षालगायत विषयमा दुवै देशबीच थप कूटनीतिक पहल गर्ने विषयमा छलफल भएको जानकारी दिए।
राजदूत बासले नेपाली कामदार केयरगिभिङका क्षेत्रमा उत्कृष्ट रहँदै आएको र हाल इजरायलमा युद्ध विरामसमेत घोषणा भइसकेको हुँदा उत्तीर्ण भएका सबै नेपाली कामदारहरूलाई क्रमशः लैजाने जानकारी गराएका थिए। उनले नेपाली कामदारहरूलाई कृषि, निर्माणलगायत अन्य क्षेत्रमासमेत लैजान सकिने बताए।
मन्त्री भण्डारीले इजरायल जान छनोट भई पर्खाइमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताए।