झापा । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का नेता इमरान खानको रिहाई माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।
राजधानी इस्लामाबादस्थित डी चोकमा प्रदर्शनका लागि भेला भएका पीटीआईका समर्थकमाथि प्रहरीले हस्तक्षेप गरेको हो।
प्रहरीले जनाएअनुसार डी चोकबाट पीटीआईका पाँच सयबढी समर्थकहरू पक्राउ परेका छन्। यता इमरानकी श्रीमती बशुरा बीबी बेपत्ता भएको बताइए पनि उनी खैबर पख्तूनख्वाह प्रान्तमा रहेको खुलेको छ।
बशुरा चाँडै पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको पीटीआई पेशावरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। साथै पीटीआईले तत्कालका लागि प्रदर्शन स्थगित निर्णयसमेत गरेको छ।
यसअघि पीटीआईले प्रदर्शनस्थल इस्लामाबादको डी चोकबाट इमरानकी श्रीमतीको अपहरण गरिएको दाबी गरेको थियो। प्रदर्शनका क्रममा प्रहरीको हस्तक्षेपका बीच उनी बेपत्ता भएकी थिइन्।
प्रदर्शनका क्रममा प्रहरीले अन्धाधुन्ध गोली र अश्रुग्यास प्रहार गरेको आरोप लगाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोहरूमा ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएको देखिएको छ भने केहीको मृत्यु भएको बताइएको छ।
पीटीआईले सुरक्षाकर्मीले प्रदर्शनकारीहरूमाथि गरेको हस्तक्षेपको विरोध गरेको छ। जेलमा बन्द पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानको रिहाइको माग गर्दै पीटीआईले मंगलबार इस्लामाबादमा प्रदर्शन गरेको थियो।