झापा । इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सम्झौता भएकोमा संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्वयन गर्न आह्वान गरेको बीबीसीले जनाएको छ ।
इजरायलले सन् २०२३ अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि गाजासँगै लेबनानमा पनि तनाब उत्पन्न भएको थियो । तर गएराति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेसँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने भएको हो ।
सहमतिअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ । यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्नेछ ।
यसैबीच युद्धविराम सम्झौताको हिज्बुल्लाहले उल्लङ्घन गरेमा आक्रमण गर्ने अधिकार इजरायललाई रहेको भन्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले चेतावनी दिएको खबरमा उल्लेख छ ।
यो युद्धविराम सम्झौता अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडनले गाजा युद्धमा पनि युद्धविरामका लागि फेरि एकपटक पहल गर्ने आश्वासन दिएका छन् ।