२०८१ मंसिर ११, मङ्गलवार , ०४:२६:३७ बजे

Sajhamanch
'

गएको वर्ष हरेक दिन १४० जना महिला उनका साथी वा परिवारका सदस्यबाट मारिए

मङ्गलवार, मंसिर ११, २०८१

झापा । सन् २०२३ मा हरेक दिन औसत १४० जना महिला तथा बालिका उनका साथी वा परिवारका सदस्यबाट मारिएका प्रतिवेदन सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसङ्घ (यूएन) को लागूऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र राष्ट्रसङ्घको महिला विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२३ मा हरेक १० मिनेटमा एक जना महिला मारिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिवेदनले महिला तथा बालिकाविरुद्धको हिंसाको सबैभन्दा चरम रूप ‘फेमिसाइड’ विश्वव्यापी रूपमा व्याप्त रहेको र महिला र बालिकाका लागि घर नै सबैभन्दा खतरनाक ठाउँ भएको देखाएको छ । ‘फेमिसाइड’ भनेको लैङ्गिक आधारमा हुने हत्या हो जहाँ महिला भएकै आधारमा महिलाको हत्या हुन्छ ।

सन् २०२३ मा विश्वभर झन्डै ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घले जनाएको छ । जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यद्वारा भएको उल्लेख छ ।

प्रतिवेदनका अनुसार गएको वर्ष अफ्रिकामा साझेदार र परिवारसँग सम्बन्धित महिला हत्या सबैभन्दा धेरै भएको छ । त्यसपछि सबैभन्दा धेरै महिलाको हत्या हुनेमा अमेरिका र ओसिनिया रहेका छन् ।

प्रतिवेदनले अपराधीहरूलाई जवाफदेही बनाई अब्बल न्याय प्रणालीका लागि जीवितहरुलाई सहयोग सुनिश्चित गर्नुपर्ने बताउँदै यूएनओडीसीका कार्यकारी निर्देशक घडा फाथी वालीले लैङ्गिक पूर्वाग्रह तथा महिलाविरुद्धको हिंसालाई अन्त्य गर्न आह्वान गर्नुभएको छ ।

सम्बन्धित खबर