२०८१ पौष २७, शनिवार , ११:०९:०४ बजे

Sajhamanch
'

अनावश्यक संरचना कटौती गरेर पूँजीगत खर्च बढाउनु पर्छ : मुख्यमन्त्री कार्की

आइतवार, मंसिर ९, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पूँजीगत खर्च बढाउनु पर्ने बताएका छन् ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्ने बताएका हुन् ।

उनले एकै प्रकृतिका संस्थाहरु केन्द्रदेखि स्थानीय पालिकासम्म बन्न थालेकोमा चिन्ता व्यक्त गर्दै यस्तो रोक्नु पर्ने बताए ।

राष्ट्रिय पुँजीको विकास गर्ने विषयलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउँदै उनले त्यसका लागि पर्यटन, सूचना प्रविधि, कृषि र निर्माण क्षेत्रमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

स्वदेशी उत्पादनलाई बढाउने र निर्यातजन्य उद्योगहरुलाई प्रोत्साहन गर्ने नीति ल्याउँदै प्रदेश र स्थानीय तहले गर्नसक्ने कामलाई उनीहरुको क्षमताको आधारमा केन्द्रले अधिकारहरु दिँदै जानुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए ।

जवाफदेही र उत्तरदायित्वको अभावले पनि सुधार गर्न नसकिएको उल्लेख गर्दै एकै दिनमा गर्न सकिने काम पनि लामो समयसम्म रहने प्रवृत्तिको अन्त्य गर्नु जरुरी रहेको उनले बताए ।

प्रशासनिक सुधार र राजश्व उठाउने विषयमा जवाफदेहिता र सहकार्यको मोडलबाट काम गर्न सकिएमा नतिजा आउनसक्ने मुख्यमन्त्री कार्कीले बताए ।

कतिपय अवस्थामा सुधारको लक्षण देखापरे पनि त्यसलाई नजरअन्दाज गरेर नकारात्मक प्रचार गर्ने प्रवृत्तिले पनि समस्या उत्पन्न हुने गरेको चर्चा गर्दै नकारात्मक कुराहरुलाई निरुत्साहन गर्नुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित खबर