धनगढी । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन्।
बिहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्री हेरफेर गर्नेबारे कुनै छलफल नभएको बताएका हुन्।
‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ। तर अहिले सम्म त्यस्तो छलफल भएको छैन,’ उनले भने।
उनले यो गठबन्धन २०८४ सम्मकायम रहने बताउँदै अबको १ वर्ष ८ महिना पछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेख गरे।
प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दल बीच खटपट भएको छ नि भन्ने संचारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको बताए।
‘एमाले र कांग्रेसबीच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाइरहेका छौं, २०८४ को निर्वाचन सम्म सहज मिलेर जान्छौ,’ उनले भने,‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ, चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ।’