२०८१ पौष ६, शनिवार , ०८:३८:४३ बजे

Sajhamanch
'

कोशी प्रदेशका ७ वटा वडामा उपनिर्वाचन : ६० जनाको मनोनयन दर्ता हुँदा ६ जना महिला उम्मेदवार

सोमवार, मंसिर ३, २०८१

विराटनगर । मङ्सिर १६ गते हुने निर्वाचनमा कोशी प्रदेशका ६ वटा जिल्लामा रिक्त रहेका ७ वटा वडामा रिक्त रहेको वडा अध्यक्ष पदमा ६० जनाको उम्मेदवारी परेको छ ।

सात वटा स्थानीय तहमा रिक्त रहेको ७ वडा अध्यक्ष पदका लागि ६० जनाको मनोनयन भएको प्रदेश निर्वाचन कार्यालय मोरङले जनाएको छ । मनोनयन दर्ता भएकामा ६ जना महिला रहेका छन् ।

निर्वाचन हुने वडा मध्ये सबै भन्दा बढी सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ मा १४ जनाको मनोनयन दर्ता भएको छ । यसै गरी झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा ९ जनाको उम्मेदवारी मनोनयन भएको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा ८ जना, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ५ मा ८ जना, उदयपुरको त्रियुगा नगरपालिकाको वडा नम्बर १२ मा ९ जना, उदयपुरकै बेलका नगरपालिका वडा नम्बर ९ मा ७ जना र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३ मा ५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचन हुने यी पालिकामध्ये सिरिजङ्गा ६ र बेलका ९ मा स्वतन्त्र उम्मेदवारी परेको छैन । बाँकी सवैमा स्वतन्त्र उम्मेदवारी परेको आयोगले जनाएको छ । आयोगका अनुसार कन्काईमा १, लालीगुराँसमा २, गढीमा ३, मोलुङमा २ र त्रियुगामा १ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दिएका ६० जना मध्ये ६ जना महिला उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । सिरिजङ्गामा १, कन्काईमा १, गढीमा २ र त्रियुगामा २ जना महिलाले वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन् ।