२०८१ पौष २६, शुक्रवार , ०९:४९:५७ बजे

Sajhamanch
'

युएईलाई हराउँदै यू–१९ महिला टी–२० विश्वकपमा नेपाल छनौट

बुधवार, कार्तिक २८, २०८१

काठमाडौं । नेपाल यू–१९ महिला टी–२० विश्वकपमा छनौट भएको छ । आज भएको अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो ।

युएईले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्दै प्रतियोगितामा शीर्ष स्थानमा रहदै विश्वकपमा छनौट भएको हो ।

यसअघि नेपालले टस हारेर पहिला बलिङ गर्दै युएईलाई २० ओभरमा ९ विकेट गुमाउदै ८३ रनमा रोकेको थियो ।

यू–१९ महिला टी–२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुदैछ । १६ देशले भाग लिने विश्वकपमा १५ देशको टुंगो यसअघि नै लागिसकेको थियो । नेपाल विश्वकप खेल्ने १६औं देश बनेको छ ।

यस विश्वकपमा आयोजक मलेसिया, अघिल्लो विश्वकप खेलेका १० देश र क्षेत्रीय छनौटबाट नेपालसहित ५ देशले भाग लिँदैछन् ।

जसमा अघिल्लो विश्वकप खेलेका अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इण्डिज रहेका छन् ।

त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् ।

यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । सो समूहमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् ।

यसअघि २०२३ मा भएको पहिलो यू–१९ महिला टी–२० विश्वकप भारतले जितेको थियो । २०२३ को विश्वकप छनौट प्रतियोगितामा नेपाल तेस्रो हुदै एसियाबाट छनौट हुन सकेको थिएन । एशियाबाट युएई शीर्ष स्थानमा रहँदै छनौट भएको थियो ।

सम्बन्धित खबर