२०८१ पौष १०, बुधवार , ०९:०५:०६ बजे

Sajhamanch
'

चीनमा व्यायाम गर्नेको भीडमा कार जोतिँदा ३५ को मृत्यु, ४३ घाइते

बुधवार, कार्तिक २८, २०८१

झापा । चीनको झुहाईस्थित एक रंगशालाबाहिर व्यायाम गरिरहेका मानिसहरूको भीडमा कार जोतिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । घटनामा ४३ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

घाइतेमध्ये अधिकांश वृद्धवृद्धा, किशोर र बालबालिका रहेका चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । बीबीसीका अनुसार कार ६२ वर्षीय पुरुष चालक फानले चलाएका थिए ।

दुर्घटनालगत्तै भाग्न खोजेका चालकलाई स्थानीय प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले घटनालाई ‘गम्भीर र घातक आक्रमण’ भनेको छ ।

प्रारम्भिक अनुसन्धानमा फानले सम्बन्ध विच्छेदपछि सम्पत्ति प्रदान गर्नुपरेको असन्तुष्टिका कारण आक्रमण गराएको देखिएको प्रहरीले जनाएको छ । तर, फान अचेत अवस्थामा रहेका कारण उनसँग सोधपुछ गर्न नसकिएको प्रहरीको भनाइ छ ।

प्रत्यक्षदर्शीहरूले पोस्ट गरेका घटनाका धेरैजसो भिडियोहरू मंगलबार बिहान इन्टरनेट सेन्सरहरूले चिनियाँ सामाजिक सञ्जालबाट हटाइएका थिए ।

तर अनलाइनमा प्रसारित केही फुटेजमा धेरै मानिसहरूलाई भुइँमा सुताइएको र स्वास्थ्यकर्मी तथा वरपरका मानिसहरूले हेरिरहेको देखिन्छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले घटनाप्रति गहिरो चासो व्यक्त गर्दै घाइतेको उपचारका लागि हरसम्भव प्रयास गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

त्यसका साथै उनले दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताएका छन् । राष्ट्रपतिको निर्देशनपछि केन्द्रीय सरकारले घटनाबारे अनुसन्धान गर्न कार्यदल पठाएको जनाइएको छ ।

सम्बन्धित खबर