२०८१ पौष ७, आइतवार , ०७:०२:४२ बजे

Sajhamanch
'

मानव तस्करीमा मुछिए कोशीका निवर्तमान कानुनमन्त्री अधिकारी

बिहिवार, कार्तिक २२, २०८१

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी ठीक एक साताअघि जापान उडेका थिए । चार असम्बन्धित व्यक्तिलाई सँगै लिएर गएका उनको भ्रमणबारे प्रदेश मन्त्रिपरिषद्लाई नै थाहा थिएन ।

प्रदेश सरकार बेखबर रहे पनि जापान सरकारले भने उनको नियत बुझ्यो । मानव तस्करीको आरोपमा ४८ घण्टा केरकार गरेर विमानस्थलबाट फर्काइदिएको छ । मानव तस्करीको विवादमा परेपछि बुधबार उनले राजीनामा दिएका छन् ।

टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन अधिकारी कात्तिक १३ मा जापान उडेका थिए । प्रदेशका मन्त्रीले पनि विदेश भ्रमण गर्दा संघीय मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्छ । तर, तत्कालीन मन्त्री अधिकारीले औपचारिक जानकारी नदिएको कोशी प्रदेश सरकारको दावी छ । बरु उनले अनिता तिमल्सिना, जनक राई, दाबा शेर्पा र कञ्चन देवकोटालाई सँगै लिएर गएका थिए । तर, उनीहरू मन्त्रालयसँग साइनो नभएका व्यक्ति हुन् ।

तर, मन्त्रीसँगै गएका चार जनाको कागजपत्र शंकास्पद देखिएपछि जापानको अध्यागमनले करिब ४८ घण्टा विमानस्थलमा राखेको थियो । मन्त्रीसहित पाँचै जनालाई क्याथे प्यासेफिकको उडान नम्बर ६०३ बाट काठमाडौं फर्काइएको थियो । अधिकारी र तिमल्सिनालाई त्रिभुवन विमानस्थल अध्यागमनले सामान्य सोधपुछपछि कागज गराएर छाडेको थियो भने अन्य ३ जनालाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ ।

अधिकारीसहित पाँचै जनालाई जापानको अध्यागमनले फर्काइदिएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एक अधिकृतले पुष्टि गरे । ‘जापान अध्यागमनले फर्काइदिएपछि उहाँहरू पाँचै जना कात्तिक १७ मा काठमाडौं आइपुग्नुभएको थियो । यात्रासँग सम्बन्धित कागजपत्रमा कैफियत देखिएको जानकारी पाएपछि हामीले थप अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगायौं,’ अध्यागमनका ती अधिकृतले भने ।

जापानबाट फर्काइएका ३ जनामाथि अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थप तीन जनालाई पक्राउ गरेको छ । कार्यालयले उनीहरू ६ जनामाथि नै थप अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ । परिसर प्रमुख एसएसपी वसन्त रजौरेले उनीहरूविरुद्ध सरकारी कागज किर्तेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जानकारी दिए । ‘अन्य कसुर देखिए त्यसमा पनि अनुसन्धान हुन्छ,’ उनले भने ।

रजौरेका अनुसार जापानबाट फर्काइएकामध्ये देवकोटा रसुवाको कालिका गाउँपालिका–५ घर भई मनमैंजु बस्दै आएका छन् भने शेर्पा खोटाङको ऐंसेलुखर्क गाउँपालिका–२ घर भई बूढानीलकण्ठ–११ बस्छन् । त्यस्तै खोटाङकै केपिलासगढी गाउँपालिका–४ घर भएका राई बूढानीलकण्ठ–११ बस्छन् ।

अनुसन्धानका क्रममा भने नुवाकोटको विदुर नगरपालिका–७ घर भई सामाखुशी बस्ने जुगल रिजाल, दोलखाको जिरी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने वीरबहादुर सुनुवार, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ घर भई चन्द्रागिरि नगरपालिका–८ बस्ने महेश पाण्डे समातिएका हुन् ।

मानव तस्करीमा मुछिएपछि मन्त्रीबाट राजीनामा दिएका अधिकारीले भने मानव तस्करको गिरोहले आफूलाई प्रयोग गर्न खोजेको दाबी गरेका छन् । ‘मानव तस्करले प्रयोग गर्न खोजेका रहेछन् । थाहा पाएपछि विमानस्थलबाटै फर्किर्एँ,’ उनले भने । अधिकारीका अनुसार मोरङको रतुवामाई नगरपालिका निवासी गोपाल गौतमले टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन जापान जाने प्रबन्ध मिलाइदिएका थिए । टिकटको व्यवस्था पनि उनैले गरेका थिए ।

मुख्यमन्त्री हिक्मत कार्कीनिकट स्रोतका अनुसार अधिकारीले जापान उड्नु अघिल्लो दिन फोन गरेर मुख्यमन्त्रीलाई भ्रमणबारे जानकारी दिएका थिए । ‘मुख्यमन्त्रीले व्यक्तिगत भ्रमण भए पनि सरकारी प्रक्रिया पूरा नगरी जान नमिल्ने बताउनुभएको रहेछ,’ स्रोतले भन्यो, ‘तर, उहाँ केही वास्तै नगरी उड्नुभयो ।’

जापानले फर्काइदिएपछि अधिकारीले मुख्यमन्त्री कार्कीलाई भेटेर आफू काठमाडौंबाट एक्लै उडेको तर हङकङ ट्रान्जिटमा अन्य तीन जना भ्रमणदलको सदस्य दाबी गर्दै आफ्नो सम्पर्कमा आएको बताएका थिए । मुख्यमन्त्री कार्कीले मंगलबार बिहान निवासमै भेटेर उनलाई राजीनामा गर्न निर्देशन दिएका थिए । मोरङको क्षेत्र नम्बर २ (२) बाट निरन्तर दुई पटक निर्वाचित एमाले सांसद अधिकारी कानुन व्यवसायीसमेत हुन् ।

कान्तिपुरबाट