२०८१ माघ १०, बिहिवार , ०८:५७:१० बजे

Sajhamanch
'

सहकारीको रकम ठगीमा अनुसन्धान गर्न लामिछानेलाई बुटवल लगिँदै

सोमवार, कार्तिक १९, २०८१

झापा । कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल लैजाने भएको छ ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैंयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते नै लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ अनुमति दिएको थियो । प्रहरीले अदालतको त्यही अनुमतिअनुसार अनुसन्धानका लागि बुटवल ल्याउने तयारी गरेको हो ।

कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते सकिएको थियो । तर, तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन् । भोलि मंगलबार म्याद थप नभएको अवस्थामा सोही दिन र म्याद थप भएमा छठ पर्वपछि लामिछानेलाई बुटवल लैजाने रूपन्देही प्रहरीको तयारी छ ।

बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि अदालतको अनुमतिअनुसार रूपन्देही पठाइदिन रूपन्देही प्रहरीले एक साताअघि नै पत्राचार गरिसकेको छ । त्यही पत्र अनुसार छठ पर्व सकिएपछि बुटवल ल्याउने तयारी भइरहेको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताएका छन् ।

‘उहाँ अहिले पनि अनुसन्धानकै प्रक्रियामा हुनुहुन्छ, अदालत खुल्नासाथ म्याद थप हुन्छ होला,’ उनले भने, ‘छठ पर्व सकिएपछि यहाँ ल्याउने तयारी हाम्रो पनि छ ।’

कास्की अदालतबाट म्याद थप नभएको अवस्थामा कास्की प्रहरीको समन्वयमा रूपन्देही ल्याएर अनुसन्धान गर्न पनि सकिने उनले बताए । मंगलबार अदालत खुलेपछि कहिले ल्याउने भन्ने टुंगो लाग्ने उनले बताए ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमै छन् । बञ्जाडेको भने यस अघि नै बुटवल ल्याएर बयान सकेर कास्की नै लगिएको छ ।