२०८१ पौष १९, शुक्रवार , ०६:१५:१२ बजे

Sajhamanch
'

संसदीय सुनुवाइ समिति सभापति न्यौपाने जानकारीबिनै एक महिनादेखि विदेशमा

शुक्रवार, कार्तिक १६, २०८१

काठमाडौँ । संसदीय सुनुवाइ समितिका सभापति ईश्वरीदेवी न्यौपाने सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र समितिलाई जानकारी नै नदिई एक महिनाभन्दा लामो समयदेखि विदेश भ्रमणमा छिन् । समितिका पछिल्ला पाँच बैठक सभापति न्यौपानेको अनुपस्थितिमै बसेका छन् । प्रस्तावित प्रधानन्यायाधीश र राजदूतहरूको सुनुवाइ न्यौपानेको अनुपस्थितिमै भए ।

सुनुवाइ समितिको बुधबारको बैठकमा बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको सुनुवाइ भयो । बिहान ८ बजेपछि सुरु भएको सुनुवाइ बैठकमा ज्येष्ठ सदस्यहरूले पालैपालो सभापतित्व गरे । सुनुवाइ सुरुवातमा कांग्रेसका आनन्दप्रसाद ढुंगानाले सभापतित्व गरे, त्यसपछि उनीभन्दा पनि ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले समितिको नेतृत्व गरेका थिए ।

प्रधानन्यायाधीशदेखि विभिन्न देशका राजदूतहरूको सुनुवाइ ज्येष्ठ सदस्यहरूको सभापतित्वमै भएको छ । सभापति न्यौपाने एक महिनाअघि अमेरिका गएपछि ज्येष्ठ सदस्य जबरा अनुपस्थित भए ढुंगाना र उनी पनि अनुपस्थित भए त्यसपछिका ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले समितिको सभापतित्व गरी बैठक सञ्चालन गर्दै आएका छन् ।

समिति सचिवालयका अनुसार असोज १४, १५ र १६ तथा कात्तिक १२ र १४ का बैठक सभापति न्यौपानेको अनुपस्थितिमा सञ्चालन भएका छन् । न्यौपाने लगातार पाँच बैठकमा अनुपस्थित भएकी हुन् ।

समिति सभापति न्यौपानेले सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहाललाई विदेश भ्रमणबारे जानकारी गराएकी छैनन् । कात्तिक २३ मा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ तय गरिएको छ । त्यो बैठक सञ्चालन गर्न सभापति न्यौपाने फर्किन्छिन् कि फर्किन्नन् भन्ने यकिन छैन । बिना जानकारी विदेश भ्रमणमा गएको विषयमा जानकारी लिन खोज्दा न्यौपाने सम्पर्कमा आइनन् ।

सुनुवाइ समिति सदस्यहरूले पनि सभापति न्यौपानेले समितिमा कुनै जानकारी नगराएको बताए । समिति सदस्य लीलानाथ श्रेष्ठले भने, ‘समिति सभापति निजी भ्रमणमा जानुभएको हो कि संसद्लाई प्राप्त कोटामा जानुभएको हो, समितिलाई कुनै जानकारी छैन । उहाँले समितिलाई भन्नुभएको भए हुन्थ्यो ।’

पूर्वकानुनमन्त्री समेत रहेका उनले पदीय मर्यादाअनुसारको काम सभापति न्यौपानेबाट नभएको प्रतिक्रिया दिए । ‘समिति सभापतिको आफ्नो नैतिकता र जवाफदेहिताको कुरा हो । उहाँ नभएर पनि काम त रोकिँदैन, ज्येष्ठ सदस्यले पनि बैठक गरिरहनुभएको छ तर, सभापति जिम्मेवार पद हो । उहाँले प्राथमिकता दिने भनेको सभापति पदलाई हो,’ उनले भने, ‘प्रधानन्यायाधीश र सर्वोच्च अदालतको न्यायाधीश, राजदूत मुलुकका अत्यन्त महत्त्वपूर्ण पद हुन्, उहाँहरूको सुनुवाइ पनि महत्त्वपूर्ण कार्य हो ।’

‘सात समुद्रपारिबाट अग्रज, आफन्त, इष्टमित्र, साथीभाइ सबैलाई विजया दशमीको शुभकामना’ भनेर सामाजिक सञ्जालमा लेखेकी न्यौपानेले तिहार पनि सात समुद्रपारि नै मनाउने भएकी छन् । त्यसपछि पनि कहिले फर्किन्छिन् भन्ने जानकारी उनी आबद्ध पार्टी कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई पनि छैन ।

बुधबार समितिको बैठक सकिएपछि सभापतिबारे छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘समिति सभापति पारिवारिक भ्रमणका लागि अमेरिका जानुभएको छ । तिहार पछि फर्कन्छु भन्नुभएको थियो, कहिले आउनुहुन्छ रु थाहा छैन ।’

समिति सदस्य तथा कांग्रेस सहमहामन्त्री जीवन परियारले पनि सभापति न्यौपाने ठ्याक्कै कहिले स्वदेश फर्किने भन्ने जानकारी नपाएको बताए । ‘अमेरिका भ्रमणमा जानुभएको भन्ने छ, तिहारपछि फर्किने कुरा थियो, ठ्याक्कै कहिले फर्किनुहुन्छ भन्ने जानकारी छैन,’ उनले भने ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० अनुसार समितिको बैठक बोलाउने अधिकार सभापतिलाई हुन्छ । नियमावलीमा भनिएको छ, ‘समितिको बैठक सभापतिले बोलाउनेछ । समितिको बैठक बस्नका लागि समितिका सम्पूर्ण सदस्य संख्याको ५१ प्रतिशत सदस्यको उपस्थिति अनिवार्य हुनेछ ।’

नियमावलीमा यस्तो व्यवस्था भए पनि एकातिर गणपूरक संख्याको समस्या देखिँदै आएको छ भने अर्कातिर सभापति नै लामो समय विदेश भ्रमणमा गएकाले बैठक प्रभावित हुँदै आएको छ ।

संसदीय समितिमा लगातार पाँच बैठकमा अनुपस्थित रहे सदस्यलाई कारबाही हुने नियमावलीमा उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८३ मा भनिएको छ, ‘लगातार पाँचवटा बैठकमा सभापतिको अनुमतिबिना अनुपस्थित रहने सदस्यलाई सभापतिको सिफारिसमा सभामुखले समितिबाट हटाउन सक्नेछ र सोको जानकारी बैठकलाई दिनेछ ।’

समिति सभापति नै यसरी लगातार बैठकमा अनुपस्थित हुने कल्पना नियमावली लेखनका बेला नगरिएको सचिवालयका उच्च अधिकारी बताउँछन् । ‘सभापति नै जानकारी नदिई अनुपस्थित हुनुहोला भन्ने कल्पनै नगरिएकाले सभापति अनुपस्थित भए के गर्ने भन्ने व्यवस्था नियमावलीमा गरिएको छैन,’ उनले भने ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सांसदहरूको व्यक्तिगत विदेश भ्रमणका बारेमा सचिवालयलाई जानकारी नहुने बताए । ‘सांसदहरू व्यक्तिगत रूपमा विदेश भ्रमणमा गएको विषयमा हामीलाई जानकारी हुँदैन, अफिसियल भ्रमण हो भने सचिवालयलाई जानकारी हुन्छ ।

अधिवेशन चलेको बेला बिदा लिनुपर्ने हुन्छ, १० भन्दा बढी बैठकमा अनुपस्थित हुन नहुनुपर्ने कानुनी व्यवस्था भएकाले १ दिन अनुपस्थित भए पनि सूचना आउँछ । तर, अधिवेशन नचलेको बेला जानकारी हुँदैन ।’

सुनुवाइ समिति गठन भएको लामो समयपछि न्यौपाने सभापति चयन भएकी थिइन् । उनी २०८१ साउन ३१ मा सुनुवाइ समिति सभापति निर्वाचित भएकी हुन् । उनी सभापति निर्वाचित भएयता सुनुवाइ समितिका ११ वटा बैठक बसेका छन् ।

कान्तिपुरबाट

सम्बन्धित खबर