झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगत उपसमितिका सदस्य पदाधिकारीहरुलाई कर्जा विश्लेषण सम्बन्धी तालिम प्रदान गरिएको छ ।
संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा एनएमसीका सातवटै क्षेत्रमा सञ्चालन गर्नेगरी कात्तिक ९ गतेदेखि यस्तो तालिम सुरु गरिएको हो ।
तिहार अघि संस्थाका ५ वटा क्षेत्रहरुमा यस्तो तालिम सञ्चालन गरिएको र कात्तिकको अन्तिममा दुईवटा कार्यक्रम गरिने तय भएको संयोजक डम्बरबहादुर बस्नेतले जानकारी दिएका छन् ।
एनएमसीको मुख्य कारोबार बचत तथा ऋण ब्यवसाय अन्तरगत गठित सेवा केन्द्र उपसमितिका पदाधिकारी र सदस्यहरुलाई लक्षित गरेर कर्जा विश्लेषण तालिम प्रदान गरिएको हो ।
कार्यक्रम अनुसार कात्तिक ९ गते मेची क्षेत्र अन्तरगतका १० वटा सेवा केन्द्र, कात्तिक ११ गते बिर्ताअर्जुन क्षेत्र अन्तरगतका १० वटा सेवा केन्द्र र कात्तिक १२ गते भद्रपुर केचना क्षेत्र अन्तरगतका ८ वटा सेवा केन्द्रका पदाधिकारी र सदस्यहरुलाई तालिम दिइएको छ ।
यसैगरी कात्तिक १३ गते कनकाई रतुवा क्षेत्र ख अन्तरगतका १२ वटा सेवा केन्द्र र कात्तिक १४ गते हिजो कनकाई रतुवा क्षेत्र क अन्तरगतका ८ वटा सेवा केन्द्रमा गठित उपसमितिका पदाधिकारी र सदस्यहरुलाई लक्षित गरेर कर्जा विश्लेषण तालिम प्रदान गरिएको संयोजक बस्नेतले जनाएका छन् ।
आयोजक उपसमितिका संयोजक बस्नेतको अध्यक्षतामा आयोजित ती सबै तालिममा सञ्चालक समितिका सहसचिव अम्बिकाप्रसाद ढकालले ऋण सम्बन्धी सैद्धान्तिक ज्ञान प्रवाह गरेका थिए ।
उनले ऋणको अर्थ र लगानीको स्रोत, ऋण प्राप्तीका लागि पेश भएका कागजातको परीक्षण, परियोजना एवम् आवेदकको आयस्रोतका आधारहरु, सदस्यसँगको परामर्श एवम् अन्तरवार्ताजस्ता विषयमा सहजीकरण गरेका थिए ।
सहभागीहरुसँग अन्तरक्रिया विधिबाट सञ्चालन गरिएको सो तालिममा वर्तमानमा ऋणको साँवा ब्याज भुक्तानीमा भइरहेको आलटालको कारण, बिना धितो लगानी भएको ऋणको अवस्था एवम् ऋण आवेदकको फाइल अध्ययन सम्बन्धी छलफल गरिएको थियो ।
तालिममा संस्थाको कर्जा विभाग प्रमुख सुवोध बुढाथोकीले समग्र संस्थाको कर्जाको स्वास्थ्य अवस्था, सम्बन्धित क्षेत्रको कर्जाको स्वास्थ्य अवस्था, बजार हल्लाबाट जोखिममा रहेको कर्जा प्रतिशत, धितो लिलामी नै गर्नुपर्ने अवस्थामा पुगेका कर्जाहरु, उपसमितिका सदस्यहरुले ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयमा सहजीकरण गरेको जनाइएको छ ।
ती तालिमहरुमा एनएमसीका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले सेवा केन्द्र प्रमुखहरुलाई संस्थाले बनाएको कर्जा नीतिभन्दा बाहिर गएर फाइल तयार नगर्न निर्देशन दिएका थिए । ऋण दिने कुरा बाँकीमा पैसा बेच्नु सरह भएकोले ऋण माग्नेको नियत र सँगसँगै दिनेको नियत पनि विश्लेषण गर्नैपर्ने अध्यक्ष सिवाकोटीले सुझाए ।
यसैगरी एनएमसीका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, लेखा सुपरीवेक्षण समितिका संयोजक रचना दाहाल, वरिष्ठ उपाध्यक्ष भगवती घिमिरे मैनाली, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, बचत तथा ऋण व्यवसाय प्रमुख तेजकुमारी घिमिरे लगायतले तालिमको विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
सम्बन्धित क्षेत्रका क्षेत्रीय प्रमुखहरुले ऋणको अवस्थाका बारेमा क्षेत्रगत विवरणहरु प्रस्तुत गरेको तो कार्यक्रमहरुमा आयोजक उपसमितिका सदस्य गोपाल काफ्लेले सहभागीहरुलाई शाब्दिक स्वागतसहित तालिमको औचित्यमाथि प्रकाश पारेका थिए ।