२०८१ कार्तिक ६, मङ्गलवार , ११:१६:५१ बजे

Sajhamanch
'

चिनियाँ विद्युतीय गाडीमा थप कर लगाउने निर्णयमा ढिलाइ गर्न ईयूलाई मर्सेडिज बेन्जको आग्रह

मङ्गलवार, कार्तिक ६, २०८१

झापा । जर्मनीको कार निर्माता कम्पनी मर्सेडिज–बेन्जले चिनियाँ विद्युतीय गाडीमा थप कर लगाउने विषयमा चीनसँगको विवाद कम गर्न युरोपेली युनियन (ईयू) लाई आग्रह गरेको छ ।

मर्सेडिज–बेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओला केलेनियसले दुवै पक्षको हितलाई नोक्सान पुग्नबाट बचाउनका लागि थप कर लगाउने लागू गर्न ढिलाइ गर्न आग्रह गर्दै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सीईओ केलेनियसले आफूहरूलाई थप अवरोधहरू नभई स्वतन्त्र व्यापार चाहिएको बताएको खबरमा उल्लेख छ । उनले चिनियाँ विद्युतीय गाडीमाथिको प्रस्तावित शुल्कले ईयूको विश्वव्यापी प्रतिस्पर्धात्मकता बढाउन असफल हुने बताएका छन् ।

चिनियाँ विद्युतीय गाडीमाथि ईयूले प्रस्ताव गरेको शुल्क लागू गर्ने निर्णय नजिकिँदै गर्दा मर्सेडिज–बेन्जका सीईओ केलेनियसले दुवै पक्षलाई लाभ हुने गरी सन्तुलित समाधान खोज्न आह्वान गरेका छन् ।

यो महिनाको शुरूमा धेरैजसो ईयू देशहरूले चीनबाट आयात गरिएका विद्युतीय गाडीमा ३५ दशमलव ३ प्रतिशतसम्मको थप कर लगाउने मार्गप्रशस्त गरेका छन् । तर जर्मनीले भने यो निर्णयले देशको विशाल कार उद्योगलाई नोक्सान हुने सक्ने भन्दै ईयूको निर्णयको विरुद्धमा मतदान गरेको थियो ।