२०८१ कार्तिक ५, सोमवार , १०:०१:५५ बजे

Sajhamanch
'

कक्षा १२ को मौका परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजीमा अनुत्तीर्ण

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । कक्षा १२ को मौका परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

हिजो सार्वजनिक भएको नतिजाअनुसार ५७ हजार ६९० जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएकामा १७ हजार ९४२ जना अनुत्तीर्ण भएका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।

यस्तै लेखा विषयमा २४ हजार जनाले परीक्षा दिएकामा ८ हजार ३१५ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । मौका परीक्षामा सहभागी भएर पनि ३७ हजार १७ जनाले नतिजा सुधार गर्न नसकेका बोर्डले जनाएको छ ।

एक लाख २२ हजार १७१ जनाले परीक्षा दिएकामा ८६ हजार२४६ जना अर्थात् ७० दशमलव ६० प्रतिशत उत्तीर्ण भएका छन् । यसमध्ये अनिवार्य गणितमा ४५, फिजिक्समा दुई, लेखामा १०, ऐच्छिक गणितमा एक, कम्प्युटर साइन्समा दुई र केमेस्ट्रीमा एक जना गरी जम्मा ६१ जनाले मात्रै ‘ए प्लस’ ल्याएका छन् ।

बोर्डका अनुसार ‘ए प्लस’ ल्याउने ६१, ‘ए’ ल्याउने ७५१, ‘बी प्लस’ ल्याउने २ हजार ९८६, ‘बी’ ल्याउने ११ हजार ४९, ‘सी प्लस’ ल्याउने २३ हजार ६८८, ‘सी ग्रेड’ ल्याउने ४३ हजार ७०४ र ‘डी’ ल्याउने ३९ हजार ९३२ जना छन् ।

मौका परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले यसै शैक्षिक सत्रमा भर्ना भएर स्नातक तहमा अध्ययन गर्न पाउने छन् । मौका परीक्षामा पनि अनुत्तीर्ण भएकाहरूले भने आउँदो नियमित परीक्षामा सहभागी हुनुपर्नेछ ।

सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहेमा १५ दिनभित्र आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

सम्बन्धित खबर