२०८१ कार्तिक २, शुक्रवार , १२:०१:५२ बजे

Sajhamanch
'

दशैंमा कोशी प्रदेशमा २६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

शुक्रवार, कार्तिक २, २०८१

विराटनगर । दशैंमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैँको अवधिमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जनाएको छ ।

घटस्थापनादेखि असोज २९ गतेसम्म भएको दुर्घटनामा १३ पुरुष र एक जना महिलाको मृत्यु भएको सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

दुर्घटनामा सबैभन्दा बढी मोरङमा र सबैभन्दा कम धनकुटा र खोटाङमा मृत्यु भएको उनले बताए । प्रहरी उपरीक्षक घिमिरेका अनुसार मोरङमा ९५ ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छभने १६ जना घाइते भएका छन् ।

सुनसरीमा ६५ ठाउँमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने सात जना घाइते भएका छन् । झापामा ७२ वटा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्यसैगरी धनकुटा र खोटाङमा एक–एक जनाको मृत्यु भएको छ ।

बाह्र दिनमा ७ हजार ५९१ वटा सवारी कारबाहीमा परेका छन् भने रु. ५१ लाख ९५ हजार ५०० राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा दसैँका बेलामा छ दिनमा १३५ वटा सवारी दुर्घटना भएको थियो ।