२०८१ कार्तिक २, शुक्रवार , १०:१५:३६ बजे

Sajhamanch
'

हमासका मुख्य नेता सिनवार मारिएको घटनाप्रति विश्व समुदायको ध्यानाकर्षण

शुक्रवार, कार्तिक २, २०८१

झापा । इजरायलले हमास नेता याह्या सिनवार मारेको दाबी गरेसँगै विश्व समुदायको प्रतिक्रिया आउन थालेको छ ।

इजरायलले डिएनए परिक्षणपछि हमासका मुख्य नेता याह्या सिनवार मारिएको पुष्टि गरे लगत्तै विभिन्न देशले यसबारे प्रतिक्रिया दिन थालेका अन्तराष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

इजरायली सुरक्षा बल आइडीएफले गएराति विज्ञप्ति निकालेर अस्ति बुधवार दक्षिणी गाजामा गरेको आक्रमणमा सिनवार मारिएको दाबी गरेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सिनवारको ज्यान जानु इजरायलीहरूका लागि राहतको क्षण भएको भन्दै छिट्टै प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु र अन्य इजरायली नेताहरूसँग बन्धकहरूको विषयमा छलफल गर्न र यो युद्ध सधैंको लागि अन्त्य गर्नका लागि वार्ता गर्ने बताएका छन् ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सिनवारको ज्यान जानु अन्ततः गाजामा युद्ध समाप्त गर्ने मौका भएको बताएको खबरमा उल्लेख छ ।

जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले सिनवारलाई क्रूर हत्यारा र विद्रोहीको संज्ञा दिँदै हमासको नियन्त्रणमा रहेका सबै बन्धकहरूलाई तुरुन्त रिहा गरि हतियार विसाउनुपर्ने बताएका छन् । फ्रान्साका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि गाजामा हमासले राखेका बन्धकहरुलाई रिहा गर्न आह्वान गरेका छन् ।

इटालीका विदेश मन्त्री एन्टोनियो ताजानीले इजरायलले आत्मरक्षाका लागि हामासका सैन्य नेता मारेको भन्दै अब गाजामा युद्धविराम हुने विश्वास व्यक्त गरेका छन् । वेलायतले विद्रोही नेताले ज्यान गुमाएको भन्दै इजरायललाई बधाई दिएको छ ।

सम्बन्धित खबर