२०८१ असोज ३०, बुधवार , ०६:१२:४७ बजे

Sajhamanch
'

अमेरिकामा राष्ट्रपति उम्मेदवारका प्रतिद्वन्द्वीको स्वास्थ्य रिपोर्ट टिप्पणी

आइतवार, असोज २७, २०८१

न्यूयोर्क (अमेरिका) । अमेरिकी राष्ट्रपति चुनावको २३ दिनअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड सार्वजनिक गरेकी छन् । मेडिकल रिपोर्टमा ह्यारिस पूर्ण रुपमा स्वस्थ घोषित भएकी छन् ।

ट्रम्पको टिमले मेडिकल रिपोर्ट सार्वजनिक नगरी एक विज्ञप्ति मार्फत् ट्रम्प एकदमै स्वस्थ रहेको जानकारी दिएको सन्दर्भमा प्रतिस्पर्धी ह्यारिसले यस्तो चुनौती दिएकी हुन् ।

आफ्नो फिट्नेस रेकर्ड सार्वजनिक गर्दै ह्यारिसले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसँग उनको स्वास्थ्य रेकर्ड सार्वजनिक गर्न पनि माग गरेकी छन् ।

उनले भनिन्, ‘डोनाल्ड ट्रम्प अमेरिकी जनताले आफू राष्ट्रपति बन्नका लागि योग्य छन् कि छैनन् भन्ने थाहा नपाओस् भन्ने चाहन्छन् ।’

अमेरिकी राष्ट्रपति चुनावका सन्दर्भमा गरिएका धेरै सर्वेक्षणहरूले कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखाएको छ ।

ट्रम्प आफूलाई स्वस्थ रहेको सन्देश दिन बाइडेनलाई गल्फ खेल्न चुनौती दिइरहेका छन् ।

ह्वाइट हाउसले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति बन्न योग्य घोषणा गरेको छ । उनको डाक्टर जोसुवा सिमोन्सले कमला ह्यारिसको परिवारमा कोलोन क्यान्सरको इतिहास रहेको बताएका छन् ।

उनलाई केही कुरामा एलर्जी पनि छ । जसका कारण उनी नियमित रूपमा कोलोनोस्कोपी गराइरहेकी छिन् र आफ्नो ख्याल राख्छिन् । कमलाको मेडिकल रेकर्ड सार्वजनिक हुने बित्तिकै उनको टिमले सामाजिक सञ्जाल एक्समा लेखेको थियो– ‘अब पालो तपाइको डोनाल्ड ट्रम्प ।’

यसअघि कमलाले पनि एक र्‍यालीमा ट्रम्पको मानसिक स्वास्थ्य माथि प्रश्न उठाउँदै भनेकी थिइन्, ‘उनी कहिलेकाहीँ हराउँछन् ।’

यसअघि जो बाइडेन प्रतिस्पर्धामा रहँदा ट्रम्पले उमेर र फिट्नेसको मुद्दालाई सर्वाधिक उठाएका थिए । उनले बाइडेनलाई राष्ट्रपति पदका लागि अयोग्य घोषित गर्ने गरेका थिए ।

अहिले कमला ह्यारिस सोही रणनीति पछ्याउँदै ट्रम्पलाई स्वास्थ्यका दृष्टिकोणले पनि अयोग्य रहेको पुष्टि गर्न चाहन्छिन् ।

सम्बन्धित खबर